रुपन्देही कांग्रेसका नेता एवम् बुटवल–१८ का वडाध्यक्ष आचार्यको निधन

काठमाडौं । नेपाली कांग्रेस रुपन्देहीका नेता एवम् बुटवल उप–महानगरपालिका– १८ का वडाध्यक्ष हुमनाथ आचार्यको निधन भएको छ ।

कोरोनाभाइरसको संक्रमणबाट वडाध्यक्ष आचार्यको ७० वर्षको उमेरमा मंगलबार निधन भएको नेपाली कांग्रेस जनसम्पर्क समन्वय समितिका केन्द्रीय सदस्य विमल ढकालले जानकारी दिए ।

वडाध्यक्ष आचार्यलाई कोरोनाभाइरसको संक्रमण भएपछि काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । आचार्यको मंगलबार नै पशुपति आर्यघाटस्थित विद्युतीय शव दाहागृहमा अन्तिम संस्कार गरिएको कांग्रेस नेता ढकालले जानकारी दिए ।

कांग्रेस नेता ढकालले वडाध्यक्ष एवम् रुपन्देही कांग्रेसका नेता स्व.आचार्यको निधनले पार्टीलाई ठूलो नोक्सानी भएको बताएका छन् ।

‘स्व.हुमनाथ आचार्यको निधनले रुपन्देही कांग्रेसलाई ठूलो नोक्सानी भएको छ’, उनले भने, ‘स्थानीय तहको निर्वाचनका बेला कम्युनिस्टहरूको दब्दबाका बीच बुटवल उप–महानगरपालिका–१८ मा निर्वाचित भएर जनताको सेवामा लाग्नुभएको थियो । उहाँलाई रुपन्देही कांग्रेसले सधैँ स्मरण गर्नेछ ।’

नेता ढकालले रुपन्देही कांग्रेसले स्व.आचार्यको निधनसँगै असल अभिभावक गुमाएको समेत बताएका छन् । उनले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

Published : Tuesday, 2021 July 6, 7:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया