‘प्रसाइँ’ हलमा एमालेका नेताहरूको ‘घम्साघम्सी’

काठमाडौं । एमालेभित्रको विवाद मिलाउने प्रयास स्वरुप अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच वार्ता भएको छ ।

शनिबार ललितपुरको कुपण्डोलस्थित होटेल समिटको ‘प्रसाइँ’ हलमा ओली–नेपाल समूहका दोस्रो तहका नेताहरूको वार्ता भएको हो । दुबै समूहबीच वार्ता भए पनि ठोस सहमतिको प्रस्ताव बन्न सकेको छैन ।

एमालेभित्र सुवास नेम्वाङलाई संसद विघटनको सरकारी निर्णय सर्वोच्च अदालतले खारेज गरिदियो भने संसदीय दलको नेता बनाएर ओली–नेपाल समूहलाई मिलाएर पार्टी एकताको प्रयास भइरहेको स्रोतले जनाएको छ । नेम्वाङ विघटित प्रतिनिधि सभामा एमालेको उप–नेता छन् ।

ओली–नेपाल समूहबीच निरन्तर वार्ता र सम्वाद हुँदै आएको छ । बिहीबार र शुक्रबार दुबै समूहबीच होटेल समिटमा वार्ता भएको एक नेताले बताए ।

शुक्रबारको वार्तामा ओली समूहबाट नेम्वाङ, उप–प्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल, डा.राजन भट्टराईसहितका नेताहरूको उपस्थिति रहेको थियो ।

नेपाल समूहबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्ट सहभागी थिए ।

प्रधानमन्त्री ओलीले पार्टीलाई जेठ–२ को अवस्थामा फर्काउने बताए पनि नेपाल पक्षले आशंका व्यक्त गर्दै आइरहेको छ ।

कुपण्डोलको समिट होटेल राम्रो होटेलमा पर्छ । यो होटेलमा एमालेका नेताहरूले अड्डा जमाएर वार्ता गर्न थालेका छन् ।

Published : Sunday, 2021 June 20, 12:07 am

फेसबुकबाट तपाईको प्रतिक्रिया