सरकारको भर छैन, हेलिकप्टर दिनुस् सिन्धुपाल्चोकमा कांग्रेसका शुभेच्छुकले सहयोग गर्छौंः लामा

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचिव एवम् सांसद नीमा लामाले सिन्धुपाल्चोकमा विपत्तीमा परेका जनतालाई राहत पुर्‍याउन हेलिकप्टर उपलब्ध गराइदिने हो भने खाद्यान्नसहितका सहयोग सामग्री आफूहरूले लगेर वितरण गर्ने बताएका छन् ।

ललितपुरको कुपण्डोलमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै प्रदेश सांसद लामाले मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी गाउँपालिकाका पीडित जनतालाई पर्याप्त खाद्यान्नसहितको सहयोग दिन आफूहरू सक्षम रहेको बताए । उनले हेलम्बुर, पाँचपोखरी र मेलम्चीमा सडक हुँदै जान नसकिने भएकाले हेलिकप्टरको माग गरेका हुन् ।

उनले भने, ‘मेलम्ची नगरपालिकामा भौतिक रुपमा धेरै क्षति भएको छ । पाँचपोखरी गाउँपालिका तथा हेलम्बु गाउँपालिकामा मानवीय र भौतिक क्षति भएको छ ।’

‘मेलम्ची र ईन्दावती नदीको बगरमा जनता त्रसित छन् । शुक्रबार रातिसम्म पहिरो आएको छ । दिनभरि म त्यहीँ छु’, सांसद लामाले भने, ‘हिमालमा र बाढीपहिरो गएको आसपासमा पानी परेको छैन । तैपनि पहिरो आयो । यसको कारण के हो ? अनुसन्धान गर्नुपर्छ ।’

‘बाढीपहिरो हिमालबाट आएको हो भने हिमाली क्षेत्रमा अर्को डिजास्टर निम्ताउनेछ’, उनले सचेत गराउँदै भने, ‘असार १ गते मनाङबाट बाढीपहिरोले क्षति पुर्‍याएको छ । बेलुका हाम्रो हेलम्बु क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ ।’

‘हामीले उद्धार गरेर सकेका छौँ । त्यहाँका पीडितसामु प्रदेश सरकार देखिनु पर्‍यो । देखिएको छैन’, कांग्रेसका युवा नेता समेत रहेका सांसद लामाले भने, ‘नागरिकले बामगती प्रदेश सरकार कहाँ छ ? भनेर सोधेका छन् ।’
‘विपतको बेला प्रदेश सरकार जनताको घरदैलोमा देखिनुपर्छ । बागमती प्रदेश

सरकारसँग हेलिकप्टरबाट उद्धार गरौँभन्दा सहयोग गरेन’, उनले भने, ‘राहत र खाद्यान्नका लागि सरकारसँग हामीले धेरै आशा गर्दैनौँ । हाम्रा शुभेच्छुकहरूबाट सहयोग प्राप्त भइरहेको छ । हामी आफै सहयोग गर्छौं ।’

‘हेलम्बी, पाँचपोखरी र मेलम्चीबाट सम्पर्क विच्छेद भएको छ । सडक भत्किएको छ । पक्की पुलहरू भत्किएको छ । सडक पहिरोले लगेको छ’, उनले भने, ‘हेलम्बु र पाँचपोखरीमा सडकबाट सम्पर्क छैन । बत्ती छैन ।’

उनले भने, ‘४/५ दिनको लागि निःशुल्क हेलिकप्टर उपलब्ध गराइदिनुस् खाद्यान्नसहितको सहयोग दिन तयार छौँ । निःशुल्क हेलिकप्टरका लागि अनुरोध गरेको छु ।’

‘४/५ दिनभित्र सडक र बेलिब्रि बनाउँछौँ’, उनले भने, ‘त्यसपछि राहत लगेर वितरण गर्न सहज हुनेछ ।’

‘बागतमी प्रदेश सरकारको प्रदेश कोष छ । बागमती विपत व्यवस्थापन समितिको बैठक बसेको छैन । यो तरिकाले जनताले सरकारसँग के अपेक्षा लिने ?’, कांग्रेस सांसद लामाले भनेका छन् ।

कांग्रेसका युवा नेता लामा सोही क्षेत्रबाट बागमती प्रदेशमा सांसद छन् । सिन्धुपाल्चोक क्षेत्र नं. २ ‘२’का सांसद हुन् ।

Published : Saturday, 2021 June 19, 7:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया