कांग्रेसद्वारा गोलाञ्जोरमा स्वास्थ्य सामग्री हस्तान्तरण, जनचेतना फैलाउँदै युवाहरू

काठमाडौं । ‘कोही पनि नागरिक स्वास्थ्य सेवाबाट बञ्चित नहोउन्’ भन्ने नेपाली कांग्रेस सिन्धुली–काठमाडौं सम्पर्क समिति र नेपाली कांग्रेस गोलञ्जोर–काठमाडौं सम्पर्क समितिको संयुक्त अभियानअन्तर्गत सिन्धुली जिल्लामा स्वास्थ्य सामग्रीहरू वितरण गरिएको छ ।

सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिकामार्फत स्थानीय नागरिकलाई कोरोना महामारीबाट बच्न सहयोग पुगोस् भन्ने हेतुका स्वास्थ्य सामग्री वितरण गरिएको कांग्रेसका युवा नेता एवम् समितिका सचिव अञ्जनी कोइरालाले जानकारी दिए ।

४,२०० वटा मास्क, २५ लिटर स्यानिटाइजर, २० वटा फेस सिल्ड, २ वटा पीपीई सेट, २ वटा अक्सिमिटर वितरण गरिएको छ । सचिव कोइरालाले स्वास्थ्य सामग्रीको परिमाण थोरै भए पनि जनतामा कोरोनाबाट बच्न जनचेतना होस् भनेर सम्पर्क समितिले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको बताए ।

गाउँपालिकाका स्वास्थ्य कार्यालयका प्रतिनिधि वीरेन्द्र साह, शान्ता भण्डारी, नेपाल शिक्षक संघ सिन्धुलीका जिल्ला उपाध्यक्ष सुमन कोइराला, गोलञ्जोर–३ का वडाध्यक्ष पुष्कर बराल, नेपाल शिक्षक संघ गोलञ्जोरका सचिव अनुप बराल लगायतको रोहबरमा स्वास्थ्य सामग्री वितरण गरिएको थियो ।

गाउँपालिकाका अध्यक्ष एवम् कांग्रेसका युवा नेता पुष्पबहादुर कार्कीमार्फत गाउँपालिकालाई ती स्वास्थ्य हस्तान्तरण गरिएको कोइरालाले बताए ।

अध्यक्ष कार्कीले दुवै सम्पर्क समितिलाई धन्यवाद दिँदै आगामी दिनमा पनि गोलञ्जोरवासीको घाउमा यसैगरी मल्हम लगाउने विश्वास व्यक्त गरेका छन् ।

उनले सदैव हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

Published : Saturday, 2021 June 19, 11:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया