जसपाको अर्को गुटका कार्यकर्ताले निवर्तमान सांसद रुहि नाजका पतिको टाउको फुटाइदिए

मलंगवा । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा)का कार्यकर्ताले प्रतिनिधि सभाकी निवर्तमान सांसद रुहि नाजका पति मोहम्मद जुल्फिकार अलिलाई कुटपिट गरेका छन् ।

रुहि नाजको सर्लाही जिल्लाको मलंगवा नगरपालिका– ५ भारसरस्थित निवासमै शुक्रबार बिहान करीव ११ बजे ३/४ जनाको समूहले पतिलाई टाउको फुट्ने गरेर कुटपिट गरेका हुन् ।

जसपाका कार्यकर्ताहरू फैज अहमद, अब्दुल खालिक, अब्दुल बारिकसहितको समूहले आफ्ना पतिलाई कुटपिट गरेको रुहि नाजले बताएकी छिन् । उनले कुटपिटमा संलग्नहरूविरुद्ध शनिबार प्रहरीमा जाहेरी दिने बताएकी छिन् ।

‘आज मेरो पतिलाई उपचार गराउन अस्पताल आएको छु । उहाँको अवस्था गम्भीर छ’, रुहि नाजले भनेकी छिन्, ‘उनीहरूलाई हदैसम्मको कारबाही हुनुपर्छ ।’

निवर्तमान सांसद रुहि नाजले भनिन्, ‘हामी घरमा थियौँ । महिन्द्र यादवका कार्यकर्ताहरू आएर राजनीतिक प्रतिशोध साँधेर कुटपिट गरेका हुन् । मेरो पतिको टाउकोमा गम्भीर चोट लागेको छ । टाँका लागेको छ ।’

रुहि नाजले पतिको मलंगवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको बताएकी छिन् । निवर्तमान सांसद एवम् जसपाका वरिष्ठ नेता महिन्द्र राय यादव हाल उपेन्द्र यादव नेतृत्वको जसपामा छन् ।

निवर्तमान सांसद रुहि नाज जसपाको महन्थ ठाकुरको समूहमा छिन् ।

Published : Friday, 2021 June 18, 11:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया