श्रमजीवी वर्गको राहतका लागि कांग्रेसको माग, खोपका लागि सरकारलाई दवाव

काठमाडौं । नेपाली कांग्रेसले कम्युनिस्टको कामचलाउ सरकारको चरम लापरवाही र सत्ता केन्द्रित राजनीतिका कारण देश चौतर्फी संकटमा परेको आरोप लगाएको छ ।

बिहीबार सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले कोभिड–१९ को महामारीको रोकथाम र उपचारलाई युद्धस्तरमा लाग्नुपर्नेमा यस महामारीलाई सत्ता सुरक्षा कवचको रुपमा सरकारले प्रयोग गर्दै लगेको आरोप लगाएको छ ।

‘कोभिड–१९ को रोकथाम र उपचारमा सक्रिय हुन निरन्तर खबरदारीका वावजुद सरकारले यसलाई प्राथमिकतामा राखेन’, विज्ञप्तिमा भनिएको छ, ‘संक्रमण बढ्दै जाँदा सरकारले फेरि लकडाउनको सहारा लिन प¥यो । यसले निम्न वर्गका नागरिकहरू खासगरी श्रमजीवी वर्ग दैनिक जीवन निर्वाह गर्न नसक्ने अवस्थामा पुगेका छन् ।’

‘संक्रमितहरूको उपचारमा पहुँचको समस्या र पहुँचमा पुगेकाहरूलाई चर्को उपचारको खर्चको समस्या पनि भयावह छ’, विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेसले सरकारसँग फेरि पनि कोभिड–१९ संक्रमणको रोकथाम र उपचारमा गम्भीर हुन माग गर्दछ ।’

‘लकडाउनका कारण आर्थिक संकटमा परेका निम्न वर्ग र श्रमिकहरूलाई तत्काल राहतको व्यवस्था गर्न माग गर्दछ’, विज्ञप्तिमा कांग्रेसले भनेको छ, ‘बन्दका कारण साना, मझौला व्यवसायीहरूले भोग्न परेको मर्कालाई ध्यानमा राखी व्याजदरमा राहत, भाडामा राहत सहयोग तथा पुर्नकर्जाको व्यवस्था सुनिश्चित गर्न पनि माग गर्दछ ।’

‘समग्रमा नेपाली कांग्रेसले गत समयमा कोभिड–१९ को रोकथाम, उपचार र राहतका सम्बन्धमा बुँदागत रुपमा उठाउँदै आएका सार्वजनिक सरोकारका विषयहरूप्रति गम्भीर हुन सरकारसँग माग गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

‘कोभिड–१९ संक्रमण रोक्ने भरपर्दो उपाय खोप नै हो । तर, सरकारको अर्कमण्यता र स्वार्थका कारण आम जनतालाई खोप पु¥याउने काम असम्भव भएको छ’, कांग्रेसले आरोप लगाएको छ ।

‘पहिलो खोप पाउनेहरूले समेत दोस्रो खोप नपाउँदा पहिलो खोपको प्रभाव पनि निष्प्रभावी बन्दैछ’, विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेसफेरि पनि सरकारलाई आम नेपाली जनतालाई खोपको सुनिश्चितता गर्न माग गर्दछ ।’

‘कांग्रेस मित्रराष्ट्रहरूले गरेको अन्तर्राष्ट्रिय खोप सहयोगको घोषणालाई स्वागत गर्दै नेपालमा संक्रमणको स्थितिलाई ध्यानमा राखी जतिसक्दो खोप सहयोग उपलब्ध गराउन पनि अनुरोध गर्दछ’, कांग्रेसले भनेको छ ।

‘कांग्रेसको आह्वानमा देशभरि केन्द्रदेखि जिल्ला, क्षेत्र र गाउँ, नगर वडा तहसम्मका संरचनाहरू, विदेश स्थित नेपाली जनसम्पर्क समितिहरू, नेपाली कांग्रेसका शुभचिन्तक, समर्थक सबैलाई कोभिड–१९ रोकथाम, उपचार र राहतमा सक्रिय सहयोगका लागि धन्यवाद दिन चाहन्छ’, विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले सहयोगको कार्यमा आगामी दिनहरूमा पनि सक्रिय सहभागिताको अपेक्षा लिएको जनाएको छ ।

Published : Thursday, 2021 June 17, 11:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया