कांग्रेसको महाधिवेशनमा विकेन्द्रित निर्वाचन हुन्छः सुजाता कोइराला

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले तोकिएको समयमा महाधिवेशन गर्न सकिने बताएकी छिन् ।

भर्चुअल मिटिङलाई बुधबार सम्बोधन गर्दै उनले १४औँ महाधिवेशन विकेन्द्रीकरण चुनावमा आधारित भएर गर्नुपर्ने बताइन् ।

कोइरालाले ५ वर्षमा चुनाव गर्न नसक्नुमा केन्द्रीय सदस्य र पदाधिकारीहरू जिम्मेवार रहेको बताएकी छिन् ।

उनले संविधानले समेत निर्वाचन भनेकाले अरु बिकल्प नभएको बताएकी छिन् ।

कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडुले कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले सबै नेताकार्यकर्ताको सहयोगमा चुनाव गरेर कम्युनिस्ट सरकारविरुद्धमा आमनिर्वाचन जित्नका लागि पनि एकताको महाधिवेशन गर्नुपर्ने बताए ।

केन्द्रीय सदस्य एनपी साउदले कांग्रेसको केन्द्रीय समितिको बैठकले १४औं महाधिवेशनबारे निर्णय गर्ने बताए । उनले भने, ‘पदाधिकारीको बैठकले तय गरेको महाधिवेशनको मितिलाई केन्द्रीय कार्यसमितिको बैठकले पारित गर्नेछ ।’

पार्टी सभापति नै चुनावको पक्षमा रहेको उनले बताए । निराधार हल्ला चलाएर महाधिवेशन सर्छ भन्नुमा अर्थ नरहेको बताए ।

केन्द्रीय सदस्य बद्री पाण्डेले १४औं महाधिवेशनबट नयाँ विचार र नयाँ नेतृत्वसहितको केन्द्रीय समिति आएमा मात्र अधिनायकवादसंग लडन सकिने बताए ।

नेता पाण्डेले देशब्यापी जनमत नै चुनावको पक्षमा भएकोले नेतृत्वलाई चुनावबाट नभाग्न अनुरोध गरे ।

कांग्रेसका युवा नेता उमेशजङ्ग रायमाझीले ५ वर्षभित्र चुनाव नगराउनु नेतृत्वको असक्षमता रहेको बताए ।

‘०३६ सालको प्रतिकुलतामा जनमत संग्रह हुनसक्छ भने पार्टीको चुनाव किन नहुने ?’, रायमाझीको प्रश्न छ ।

नेपाली जमसम्पर्क समिति अमेरिकाका अध्यक्षका प्रत्याशी, कांग्रेसका युवा नेता सोमनाथ घिमिरे कांग्रेसले महिलालाई पदाधिकारीमा उच्चस्थान दिनुपर्ने माग गरे ।

नेपाली जनसम्पर्क समिति अमेरिकाको कृयाशील सदस्यहरूको छानविन गर्दै पार्टीमा त्याग गरेका कांग्रेसीहरूले मात्र पाउनुपर्ने उनले बताएका छन् ।

प्रवासी नेपालीको नाममा हुने भ्रष्टाचार र नक्कली प्रतिनिधि नियन्त्रणबारे महाधिवेशनले बोल्नुपर्ने घिमिरेले बताएका छन् ।

कार्यक्रममा केन्द्रीय सदस्य रमेश लेखक, चन्द्र भण्डारी, धनराज गुरुङ्ग, गुरुराज घिमिरे, प्रदीप पौडेल र वीरबहादुर ओलीले शुभकामना दिएका थिए ।

Published : Wednesday, 2021 June 16, 10:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया