मेलम्चीमा बाढीले ६ जना बगाएको आशंका

मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची खोला (ईन्द्रावती नदी)मा आएको बाढीले ६ जनालाई बगाएको प्रहरीले आशंका गरेको छ ।

हेलम्बु गाउँपालिकाको खोला छेउ घर भएकाहरूलाई बगाएको हुन सक्ने अनुमान छ । खोलाले बगाएकाहरूको विवरण आएको छैन ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष नीमा ग्याल्जेन शेर्पाले ६ जना स्थानीयलाई खोलाले बगाएको आशंका गरिएको बताएका छन् ।

शेर्पाले भने, ‘बाढीले ६ जना जतिलाई बगाएको भन्ने कुरा आएको छ । पूर्ण विवरण आएको छैन ।’

बाढीले ३ वटा पुल बगाएको छ । धेरै स्थानमा बाटो कटान गरेको अध्यक्ष शेर्पाले बताएका छन् ।

हेलम्बु गाउँपालिकाको तल्लो तिम्बु बजार बगाएको छ । किउलमा रहेको रेन्बो ट्राउट फर्मलाई पनि नदीले बगाएको छ ।

नदी छेउमा रहेको केही घरलाई पनि बगाएको शेर्पाले बताएका छन् ।

मेलम्ची–ईन्द्रावती नदी किनारमा रहेको मेलम्ची बजारमा बाढीले सामान्य क्षति पुर्‍याएको मेलम्ची प्रहरी कार्यालयमा प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिएका छन् ।

Published : Wednesday, 2021 June 16, 12:22 am

फेसबुकबाट तपाईको प्रतिक्रिया