एमालेकै भ्रातृ संगठनद्वारा ओलीको राजीनामा माग

काठमाडौं । एमालेका वरिष्ठ नेता माधव नेपाल–झलनाथ खनालनिकटको युवा संघ नेपाल एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई एउटा पदबाट राजीनामा दिन माग गरेको छ ।

युवा संघको बागमती प्रदेश कमिटीले मंगलबार विज्ञप्ति जारी गरेर ओलीलाई प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पदबाट राजीनामा दिन माग गरेको हो ।

संघले एक पदलाई कायम गर्ने गरी ओलीलाई अध्यक्ष वा प्रधानमन्त्रीमध्ये कुनै एक पदबाट राजीनामा दिन माग गरेको छ ।

युवा संघले ओलीलाई एक पद त्यागेर पार्टीको एकता पक्षमा उभिन र कार्यकर्ताहरूमा पार्टी एकताको सन्देश प्रवाह गर्न माग गरेको छ ।

प्रतिनिधिसभा विघटन गर्नु गलत भएको भन्ने आत्मालोचना गरेर अघि बढ्न समेत माग गरेको वक्तव्यमा उल्लेख छ ।

युवासंघ नेपालले एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कमिटी २०७५ जेठ २ गतेको पार्टी कमिटीलाई क्रियाशील बनाउन माग गरेको छ ।

विधि र विधानविपरीत हिँड्नु सर्वनाशको बाटो हुने भन्दै नेताहरूलाई एक ठाउँमा राखेर सो कमिटी ब्युँताएर बैठक बोलाउन माग युवा संघले गरेको छ ।

ओलीले एमालेलाई कब्जा गरेको भनेर नेपाल–खनाल समूहले विरोध गर्दै आएको छ ।

Published : Tuesday, 2021 June 15, 11:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया