मन्त्री यादवले मजदुरका माग पूरा गरिदिएपछि तेल उठ्न शुरु, चालकहरूले खोप लगाउने

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले चालकहरूको खोप लगाउने माग पूरा भएपछि पेट्रोलियम पदार्थको आपूर्ति सहज भएको बताएका छन् ।

मन्त्री यादवले पेट्रोलियम पदार्थसँग संलग्न मजदुरहरूलाई कोरोनाविरुद्धको खोप दिइने बताए । चालकहरूलाई सशस्त्र प्रहरी बल नेपालको काठमाडौंको बलम्बुस्थित अस्पतालमा खोप दिइनेछ ।

चालकहरूले कोरोनाविरुद्धको खोप लगाउन माग गरेर ट्याङकरबाट तेल ढुवानी गर्न अस्वीकार गरेपछि काठमाडौं उपत्यकासहित देशभरिका अधिकांश पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थको अभाव भएको थियो ।

मन्त्री यादवले सीएमसीसी र स्वाथ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरेर चालकहरूलाई कोरोनाविरुद्धको खोप लगाइदिने निर्णय गराएपछि चालकहरूले पेट्रोलियम पदार्थ आपूर्ति गर्न थालेका हुन् ।

मन्त्री यादवले भने, ‘मजदुरहरूको मागप्रति सरकार जहिले पनि सकारात्मक छ । सरकारले उनीहरूको माग पूरा गरिदिएको छ ।’

‘पेट्रोलियम पदार्थको ढुवानी भइसकेको छ । मंगलबार बेलुकादेखि नै सहज हुन्छ’, मन्त्री यादवले भने, ‘बुधबारदेखि कुनै समस्या हुँदैन ।’
उनले पेट्रोलियम पदार्थ बिक्री वितरणमा संलग्न सबैलाई खोप दिने व्यवस्था गरिएको बताए ।

ट्यांकर चालकले बुधबारदेखि नै खोप लगाउन पाउनेछन् ।

Published : Tuesday, 2021 June 15, 6:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया