वैदेशिक हस्तक्षेपविरुद्ध आएको संयुक्त विज्ञप्तिको शेखर कोइरालाद्वारा विरोध

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले आफ्नै पार्टीका सभापति शेरबहादुर देउवासहितका पूर्व प्रधानमन्त्रीको संयुक्त विज्ञप्तिको विरोध गरेका छन् ।

भर्जुअल अन्तरक्रिया कार्यक्रममा बोल्ने क्रममा नेता कोइरालाले सभापति देउवा कम्युनिष्टको ट्रयापमा परेको बताए । उनले भने, ‘पूर्वप्रधानमन्त्रीहरूले जारी गरेको विज्ञप्तिको भाषा नै गलत छ ।’

नेता कोइरालाले वैदेशिक हस्तक्षेपबारे विज्ञप्तिमा उल्लेखित भाषामा असन्तुष्टि जनाएका हुन् ।

‘हाम्रा सभापति कम्युनिष्टको ट्रयापमा पर्नुभयो’, कोइरालाले भने, ‘पाँच जनामध्ये चार जना कम्युनिष्ट पूर्वप्रधानमन्त्री छन् ।’

‘कांग्रेसको जम्मा एक जना मात्रै छन् । त्यो भनेको बीस प्रतिशत मात्रै हो’, उनले भने, ‘विज्ञप्तिको भाषा पनि मिलेन । विज्ञप्ति निकाल्नुपर्ने नै आवश्यकता थिएन ।’

कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री देउवासहित ५ जना पूर्व प्रधानमन्त्रीले शनिबार नेपालमा विदेशी हस्तक्षेप बढेको भन्दै विरोध गरेका थिए ।

पूर्वप्रधानमन्त्रीहरू देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले संयुक्त वक्तव्य जारी गरेका थिए ।

पूर्वप्रधानमन्त्रीहरूले नेपालको बारेमा नेपालीले नै निर्णय गर्नुपर्ने उल्लेख गरेका थिए ।

‘नेपालको बारेमा हामी नेपालीले नै निर्णय गर्नुपर्छ र नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवम् चलखेल हुन नपाओस् भन्नेमा सजगताका लागि सबैको ध्यानाकर्षित गर्न चाहन्छौं’, पूर्वप्रधानमन्त्रीहरूले भनेका छन् ।

पूर्वप्रधानमन्त्रीहरूले प्रधानमन्त्री खड्गप्रसाद ओलीको चर्काे आलोचना गरेका थिए ।

पूर्वप्रधानमन्त्रीहरूले राज्यका निकायहरूलाई सरकारलाई असहयोग गर्न आग्रह समेत गरेका थिए ।

कांग्रेस नेता कोइरालाले पार्टीभित्र बेलाबेला बखेडा गर्नुका साथै सभापति देउवाको कठोर आलोचना गर्ने गरेका छन् ।

कोइरालाले पार्टीलाई मिलाएर लैजाने विषयमा निकास दिनेभन्दा पनि देउवाको विरोध गरेर नेता हुन पाइन्छ भन्ने सधैँ अवसर कुरेर बस्ने गरेको आरोप पनि लाग्ने गरेको छ ।

Published : Monday, 2021 June 14, 9:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया