कांग्रेसले असल नेतालाई गुमायोः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेस लम्जुङका पूर्व सभापति एवम् पूर्व सांसद हरिभक्त अधिकारीको निधन भएको छ ।

७९ वर्षीय अधिकारीको काठमाडौंको मनमोहन मेमारियल अस्पतालमा उपचारका क्रममा आइतबार राति करीब ११:३० बजे निधन भएको कांग्रेसद्वारा जारी शोक विज्ञप्तिमा उल्लेख छ ।

वि.सं. १९९९ पुस १९ गते लम्जुङको सुन्दरबजार नगरपालिका– ४ चारघरेमा जन्मिएका स्व.अधिकारी विगत लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित थिए ।

स्व.अधिकारी २०४८ देखि २०५३ सम्म नेपाली कांग्रेस जिल्ला कार्यसमिति लम्जुङको सभापति रहेका थिए ।

पार्टीको विभिन्न तहको पदमा रही कार्य गरेका स्व.अधिकारी वि.सं. २०५६ को आम निर्वाचनमा लम्जुङ जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए ।

स्व.अधिकारी गैरसरकारी संस्था महासंघको पूर्व केन्द्रीय का.वा. अध्यक्ष र नेपाल खाद्य संस्थानको पूर्व अध्यक्ष तथा विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रहँदै विकास निर्माणमा समेत क्रियाशील रहेका थिए ।

नेपालको प्रजातान्त्रिक आन्दोलनको क्रममा उनीले पटक–पटक जेल जीवन समेत व्यतित गरेका थिए ।

उनको निधनबाट पार्टीले एक अग्रज र अनुभवी व्यक्तित्वलाई गुमाएको कांग्रेसले जनाएको छ । स्व.अधिकारीका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले अधिकारीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

‘हरिभक्त अधिकारीको निधनको खबरले निकै दुःखी भएको छु । उहाँको निधनले नेपाली कांग्रेसले एक असल नेता गुमाएको
छ’, देउवाले भनेका छन् ।

‘नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा उहाँले पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु’, उनले भनेका छन् ।

‘उहाँको आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु’, सभापति देउवाले भनेका छन् ।

Published : Monday, 2021 June 14, 3:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया