मन्त्री कर्णले झोंक्किएर भने, ‘सरकारले डिल्लीबजार जेलको ताला फोडेर रेशम चौधरीलाई छाड्ने हो र ?’

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री एवम् जनता समाजवादी पार्टी, नेपाल (जसपा)का नेता लक्ष्मणलाल कर्णले रेशमलाल चौधरीलाई रिहाइ नगरेरसम्म सरकारमा जान्न भनेर आफूले कहिल्यै नबोलेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान अन्तर्वार्ताका क्रममा मन्त्री कर्णले डिल्लीबजार जेलको ताला फोडेर रिहाइ गर्ने हो र ? भनेर प्रतिप्रश्न गरेका हुन् ।

रेशमलाल चौधरीलाई रिहा नगरेसम्म सरकारमा जान्न भनेर तपाईले मसँग भन्नुभएको थियो फेरि किन सरकारमा जानुभयो भन्ने प्रश्नको जवाफमा मन्त्री कर्णले भने, ‘बिल्कुल गलत । यो कुरा मैले कहिल्यै भनेको छैन ।’

‘कसले भनेको छ त्यो तपाईलाई थाहा होला । तपाईलाई जे मनमा लाग्छ त्यही बोलिदिने ?’, मन्त्री कर्णले भने, ‘हामी अहिले पनि रेशमलाल चौधरीको रिहाइको पक्षमा छौँ । तर, भन्या होइन मैले ।’ उनले रेशमलाल चौधरी रिहा नहुँदासम्म मन्त्री बन्दैन भनेर आफूले नबोलेको बताए ।

‘हामीले हाम्रो माग पूरा हुँदैन भने जाँदैनौँ भन्ने भन्या छु । रेशमलाल चौधरीलाई हामीले जेलमा बस्न दिँदैनौँ । रेशम चौधरीको मुद्धा सर्वोच्च अदालतमा छ’, मन्त्री कर्णले भनेका छन् ।

‘के गर्छ सरकारले ? त्यो मुद्धा खोसेर ल्याएर फैसला गर्छ ? सरकारले गएर डिल्लीबजारको जेलको ताला तोड्छ ? अनि त्यस्तो कुरा हामीले भन्यौँ ? अरुले जे भने होला । मैले भने ? मैले भनेको छैन’, उनले प्रश्न गर्दै भनेका छन् ।

‘हो संविधान संशोधनको कुरा हामीले अगाडि बढाएका छौँ । प्रतिवेदन तयार हुन्छ’, मन्त्री कर्णले भने, ‘पार्लियामेन्ट आउनेवित्तिकै त्यसमा छलफल हुन्छ ।’

मन्त्री कर्णले भने, ‘पद र पैसा भयो भने पुग्छ भन्ने आरोप गलत हो ।’

‘जनतालाई थाहा छ । तीन वर्ष अगाडि नै ओलीको सरकारमा जाने थियौँ । हाम्रो केही दायित्व छ । त्यो दायित्व पूरा नहुँदै हामी सरकारमा जाँदैनौँ । दायित्वको लागि हामीले चार महिना लड्यौँ । त्यो दायित्व पूरा भएपछि मात्रै हामी गएका छौँ सरकारमा’, मन्त्री कर्णले भनेका छन् ।

टीकापुर घटनाको अभियोगमा रेशमलाल चौधरी डिल्लीबजार जेलमा सजाय भोगिरहेका छन् । उनको मुद्धा सर्वोच्च अदालतमा विचाराधीन छ ।

जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो समूहले रेशमलाल चौधरीको नाम भजाएर सत्तासँग बार्गेनिङ गरेर मन्त्री बनेका छन् । अहिले आएर रेशमलाल चौधरीको रिहाइ किन नभएको भनेर प्रश्न गर्दा जसपाबाट मन्त्री बनेकाहरूको बोली फेरिएको छ । मन्त्रीहरू रेशमलाल चौधरीको नाम लिँदा पनि रिसाउन थालेका छन् ।

Published : Monday, 2021 June 14, 1:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया