एमालेका पृथ्वीसुब्बा गुरुङले यस्तोसम्म हर्कत गरेको खुलासा

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले गण्डकी प्रदेश समितिको अध्यक्ष अनिल परियार नरहेको जनाएको छ ।

जसपाले आइतबार जारी विज्ञप्तिमा गण्डकी प्रदेशको आफ्नो पार्टीको लेटरप्याड र छाप दुरुपयोग गरेको आरोप लगाएको छ ।

प्रदेश समितिको अध्यक्ष भनि परियारले जेठ २८ गते एमालेका नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारलाई समर्थन रहेको भन्दै जसपाको निर्णय र नीति विपरित प्रदेश प्रमुखलाई पत्र लेखेकोप्रति ध्यानाकर्षण भएको जसपाले जनाएको छ ।

परियार जसपाको साधारण सदस्य पनि नरहेको स्पष्ट पार्दै त्यहाँको प्रदेश समितिको अध्यक्ष मोती रिजाल रहेको जनाइएको छ ।

हुँदै नभएको हैसियतमा फर्जी र नक्कली लेटरप्याड, स्टाम्प बनाई प्रयोग गरी दिग्भ्रमित गर्ने कार्य अनैतिक र जालसाजी कार्य भएको जसपाले जनाएको छ ।

भविष्यमा यस्ता फर्जी र जालसाजीपूर्ण कार्य गरेको पाइएमा कानूनअनुसार सजायको भागीदार हुने चेतावनी जसपाले दिएको छ ।

जसपा कुनै पनि प्रकारको प्रतिगमन तथा प्रतिगमनकारी र संघीय लोकतन्त्र, गणतन्त्र मास्ने कार्यहरूको विपक्षमा रहेका पनि स्पष्ट पारिएको छ ।

एमालेका नेता पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीमा दाबी गर्न जसपाको कीर्ते गरिएको पत्र प्रदेश प्रमुखको कार्यालयमा पेश गरेका थिए । गुरुङको सो हर्कतको विरोध भएको थियो ।

Published : Sunday, 2021 June 13, 9:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया