नरोत्तमजी ओलीको तुलना गान्धीसँग हुँदैन, मूल्यांकन गलत भयोः कांग्रेस नेता थकाली

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रोमी गौचन थकालीले जनता रोग, भोक, मानसिक तनावले मृत्युवरण भइरहेका बेला प्रदेश सांसद नरोत्तम बैद्यको आक्रोशले प्रतिबिम्बित गरेको बताएका छन् ।

कांग्रेस नेता थकालीले शनिबार प्रेस नोट जारी गरेर जनता उकुशमुकुसको अवस्थामा बाँच्नु परेको बताएका हुन् ।

‘जनता कोही रोगले, कोही भोकले, कोही मानसिक तनावले मृत्युवरण गरेका छन्’, उनले भने, ‘जनता उकुशमुकुसमा बाँचेका छन्, आक्रोशित भएका छन् । यो ध्रुबसत्य हो । सायद, जनताको यी आक्रोशको प्रतिबिम्ब जनताको प्रधिनिधि नेपाली कांग्रेसका एक प्रदेश सभा सदस्यलाई पनि परेको हुन सक्छ ।’

‘आफ्नो असन्तुष्टि, आक्रोशले आफूमाथि हिंसक मनोविज्ञानले सफलता पाउन दिनु हुँदैन’, पूर्वमन्त्री थकालीले भने, ‘हाम्रै नेपाली कांग्रेसले इतिहासको कालखण्डमा सशस्त्र आन्दोलन परित्याग गरी सत्याग्रह र शान्तिपूर्ण प्रजातान्त्रिक आन्दोलनको मार्ग समातेर यहाँसम्म आइपुगेको अनुभव हामी सबैमा छ ।’

कांग्रेस नेता थकालीले भने, ‘प्रधानमन्त्री केपी ओलीको नागरिकप्रतिको गैर जिम्मेवारपना, मनपरितन्त्र र गैरसंवैधानिक क्रियाकलापको विरूद्ध संवैधानिक र राजनैतिक उपचारद्वारा गरिनु पर्दछ, नकि, नाथूराम गोड्से जन्माएर ।’

‘नेपाली कांग्रेसका एकजना मेरा मित्र प्रदेश सभा सदस्यले प्रधानमन्त्रीविरुद्ध नाथूराम गोड्से जन्माउनु पर्छ भन्ने विचार सरासर गलत छ’, उनले भने, ‘नाथूराम गोड्सेले महात्मा गान्धीको हत्या गरेर भारतीय इतिहासमा खलनायकको नामले कलंकित भए भने गान्धी राष्ट्रपिताका रूपमा चित्रित भए ।’

‘अर्धनग्न भेष धारण गर्ने गान्धीको अहिंसक आन्दोलनले त्यस बखतको शक्तिशाली ब्रिटिस साम्राज्यलाई भारतवाट सदाको लागि विदा गरिदिए’, कांग्रेस नेता थकालीले भनेका छन् ।

कांग्रेस नेता थकालीले ओलीलाई महात्मा गान्धीसँग तुलना गर्नै नमिल्ने संकेत गरेका छन् । उनले आफ्नै पार्टीका सांसदलाई सम्झाउँदै नाथूराम गोड्से प्रवृत्ति गलत रहेको भन्दै ओली कहिल्यै पनि महात्मा गान्धी बन्न नसक्ने स्मरण गराएका हुन् ।

‘प्रधानमन्त्री केपी ओलीमा एकाधिकारवाद, तानाशाह सोँच, फरकमत, फरक विचारधारा राख्नेहरूप्रति अत्यन्त असंहिष्णु हुने प्रवृत्तिको देखिनुभएको छ’, कांग्रेस नेता थकालीले भनेका छन् ।

‘आम जनता कोरोनाको महामारीको चपेटमा परि, आधारभूत स्वास्थ्य सेवाको अभावमा तड्पी–तड्पी मृत्युवरण गरिरहेका छन्’, उनले भने, ‘भ्यक्सिनको त कुरा धेरै टाढाको कुरा भयो । सिटामोल समेत पाइँदैन ।’

Published : Saturday, 2021 June 12, 1:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया