कांग्रेस संसदीय दलका नेता बानियाँद्वारा आत्मालोचना गर्न बैद्यलाई निर्देशन

काठमाडौं । नेपाली कांग्रेस बाग्मती प्रदेश सभा संसदीय दलका नेता ईन्द्र बानियाँले प्रधानमन्त्री केपी ओलीविरुद्ध अमर्यादित अभिव्यक्ति दिने आफ्नै दलका सांसद नरोत्तम बैद्यलाई आत्मालोचनासहित अभिव्यक्ति फिर्ता लिन निर्देशन दिएका छन् ।

नेता बानियाँले शुक्रबार राति ट्वीट गर्दै सांसद बैद्यलाई मर्यादित अभिव्यक्ति दिन निर्देशन दिएका छन् ।

‘कांग्रेस सांसद नरोत्तम बैद्यले आज बागमती प्रदेश सभामा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको छ’, बानियाँले ट्वीटमा भनेका छन्, ‘आलोचना गर्दा राख्नुपर्ने संयम, परिपक्वता र पार्टीको नीति विपरीतको अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न संसदीय दलको नेताको हैसियतले आग्रहसहित निर्देशन गर्दछु ।’

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि सांसद बैद्यलाई माफी माग्न निर्देशन दिएका छन् ।

‘सडकमापनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न’, शर्माले ट्वीट गर्दै भने, ‘आवेगको बोली र ब्यवहार भावनात्मक उत्तेजना भनेर उन्मुक्ति हुन्न ।’

‘शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ’, प्रवक्ता शर्माले भने, ‘तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन ।’
शर्माले भने, ‘अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन ।’

बागमती प्रदेश सभाको शुक्रबार बसेको बैठकमा सम्बोधनका क्रममा सांसद बैद्यले प्रधानमन्त्री ओलीविरुद्ध नाथुराम गोड्से बन्न तयार रहेको बताएका थिए । गोड्से ती व्यक्ति हुन्, जसले महात्मा गान्धीलाई गोली हानेर हत्या गरेका थिए ।

प्रधानमन्त्री ओलीले सत्ता जोगाउन जस्तोसुकै सम्झौता गरेको आरोप लगाउँदै वैद्यले भने, ‘खड्गप्रसाद ओलीलाई नरोक्ने हो भने उनले यो देश खाइदिन्छन् । त्यसैले मेरो आग्रह छ, अब कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्‍यो मुलुक बचाउनलाई, कोही नाथुराम बन्न तयार छैन भने म बन्छु ।’

यति भनेपछि उनले विषय अन्तै मोडेका थिए । प्रधानमन्त्रीप्रति लक्षित वैद्यको टिप्पणी अशोभनीय र अमर्यादित भए पनि प्रदेशसभा बैठकमा कसैबाट नियमापत्ति भएन ।

‘कहिलेकाहीँ ट्याम्पुमा चढ्दा त्यहाँ बस्ने साथीहरूले कुराकानी गर्छन्– नेताहरूले देश यस्तरी बिगारे, उनीहरूलाई भेटे भने एक–एक गरी ठोकिदिन्थे’, बैद्यले भने, ‘एक–एकलाई सिध्याइदिन्थेँ । यस्तो सुनेपछि विस्तारै आफूसँग भएको लोगो गोजीमा हाल्थेँ । अनि जुन गन्तव्यमा जानुपर्ने हो, त्यहाँभन्दा अगाडि नै ओर्लन्थेँ । अहिले देशको अवस्था त्यस्तै बनाइदिए ।’

कांग्रेस सांसद बैद्यले उप–प्रधानमन्त्री राजेन्द्र महतोलाई नेपाली नागरिक हो कि होइन भनेर प्रश्नसमेत गरेका छन् ।

बैद्यले भनेका छन्, ‘आफ्नो पार्टीको माधव नेपाल नअटाउने अनि नेपाली नागरिक पनि हो कि होइन, उहाँ चाहिँ अटाउने ।’

सांसद बैद्यको अभिव्यक्तिको सामाजिक सञ्जालमा आलोचना भएको छ । आलोचना भएपछि नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बानियाँ र कांग्रेस प्रवक्ता शर्माले बैद्यलाई आत्मालोचना गर्न निर्देशन दिएका हुन् ।

Published : Friday, 2021 June 11, 11:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया