नेपाली सेनालाई भारतद्वारा २८ करोडको स्वास्थ्य सामग्रीहरू प्रदान

काठमाडौं । भारतले नेपाली सेनालाई भेन्टिलेटर, एम्बुलेन्स, आइसीयू बेड, पीपीइ किट, पीसीआर परीक्षण किट लगायतका स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

नेपालका लागि भारतीय राजदूत विनयमोन क्वात्राले शुक्रबार काठमाडौंमा विशेष समारोहका बीच प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेको भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतीय सेनाले करीब नेरु. २८.८ करोड रुपियाँ बराबरको स्वास्थ्य सामग्री तथा उपकरण नेपाली सेनालाई हस्तान्तरण गरिएको छ ।

भारतीय राजदूत क्वात्राले नेपाली सेनाको कोभिड–१९ विरुद्घको लडाइँमा भारतको सहयोग निरन्तर रहने बताए । यस सम्बन्धमा नेपाली सेनाले पुर्‍याएको योगदानको क्वात्राले सराहना गरेका छन् ।

भेन्टिलेटर, एम्बुलेन्स, आइसीयू बेड, पीपीइ किट, पीसीआर परीक्षण किट लगायतका स्वास्थ्य सामग्री जेठ २७ गते काठमाडौं ल्याइएको थियो ।

गत साल यता भारतीय सेनाले नेपाली सेनालाई कोभिड महामारीविरुद्ध लड्न विभिन्न किसिमका सहयोग प्रदान गर्दै आएको छ ।

भारतीय सेनाले गत मार्चमा नेपाली सेनालाई एक लाख कोभिशिल्ड खोप प्रदान गरेको थियो । यो सहयोगले संकटको समयमा दुई देशका सेनाबीच रही आएको सहकार्यलाई प्रतिबिम्बित गरेको भारतीय राजदूतावासको विज्ञप्तिमा उल्लेख छ ।

Published : Friday, 2021 June 11, 11:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया