कांग्रेस नेता खतिवडाद्वारा कम्युनिस्ट ‘नालायक’हरूको नाम सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले माओवादी छाडेर एमालेतिर लागेका रामबहादुर थापा ‘बादल’लाई श्रीमतीको ‘सारीवाद’ ल्याउन सफल भएको भन्दै बधाइ दिएका छन् ।

कांग्रेसका युवा नेता खतिवडाले कामचलाउ सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली, राष्ट्रपति विद्यादेवी भण्डारी र रामबहादुर थापाले राजा ज्ञानेन्द्र शाहभन्दा नालायक रहेको टिप्पणी गरेका छन् । खतिवडाले कम्युनिस्टहरू व्यक्तिवादी र अवसरवादी हुन् भन्ने कुरालाई आफैले पुष्टि गरेको बताएका छन् ।

‘जनता र देशको भलो गर्न माओवादीमा लागेका बादल अहिले ओली–विद्याको दीब्य ज्ञान प्राप्तपछि श्रीमतीको सारीवादी भएर परिवारको उन्नतिमा लागेछन्’, खतिवडाले शुक्रबार ट्वीट गर्दै भनेका छन् ।

‘अब जनतामा जाँदा छोराछोरीको भलोका लागि आएँ है भनेर नयाँ नारा लिएर जाने होलान्’, खतिवडाले भने, ‘लाज पचेका ओली, विद्या र बादल हिजोका ज्ञानेन्द्रभन्दा नालायक भए ।’

गृहमन्त्री पद बचाउन माओवादी केन्द्र छाडेर एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई साथ दिएका थापाले बिहीबार आफ्नी पत्नी नैनकला थापालाई मन्त्री बनाएका छन् । पत्नीलाई मन्त्री बनाएपछि थापा राजनीतिक र परिवारवादमा स्खलित भएको भनेर आलोचना भएको छ ।

कथित जनयुद्ध लडेर आएको दाबी गर्ने थापाले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई परिवारवाद र व्यक्तिवादी चरित्रको भएको भनेर आरोप लगाएका थिए । अहिले आएर थापाले प्रचण्डलाई पनि जिल हुने गरेर आफ्नै पत्नीलाई मन्त्री बनाएपछ आलोचनाको बाढी नै आएको छ ।

Published : Friday, 2021 June 11, 12:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया