अध्यक्ष बस्नेतले प्रेस काउन्सिलको जिम्मेवारी सम्हाले

काठमाडौं । प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष बालकृष्ण बस्नेतले जिम्मेवारी सम्हालेका छन् ।

अध्यक्ष बस्नेतले आइतबार काउन्सिलको कार्यालय सिनामंगलमा जिम्मेवारी सम्हालेका हुन् । उनले प्रेस काउन्सिलको उद्देश्य र यसको मर्यादालाई कायम राख्ने गरी भूमिका खेल्ने प्रतिक्रिया दिएका छन् ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष बस्नेतले विगतमा प्रेस काउन्सिलको भूमिका अनुसारको काम नहुँदा प्रश्न चिन्ह उठ्ने बताए ।

सञ्चारमाध्यमलाई अनुगमन गर्ने कामलाई प्रभावकारी बनाउन सके यसको उद्देश्य प्राप्ति हुने उनले बताएका छन् ।

उनले सञ्चारमाध्यमको प्रभावकारी अनुगमनमा काउन्सिलको पहल हुने बताए । ‘जे उद्देश्य छ हुबहु पालना गर्न सके मर्यादा आफैँ बढ्छ’, अध्यक्ष बस्नेतले भने, ‘प्रेस काउन्सिलले गर्ने भूमिका अनुसारको काम गर्न नसक्दा बेलाबेला प्रश्न चिन्ह उठ्ने गरेका थिए ।’

‘सञ्चारकर्मी, सञ्चारमाध्यमले गरेका राम्रो काम के–के हुन्, गर्न नसकेका र क्षेत्राधिकार बाहिर भएका काम के–के हुन् भनेर प्रेस काउन्सिलले मनिटरिङ गर्नुपर्ने हुन्छ’, बस्नेतले भनेका छन् ।

‘मनिटरिङ गरेर त्यसलाई नदोहो¥याउनका लागि सचेत गराउनुपर्ने हुन्छ’, उनले भने, ‘यो कामलाई नै प्रभावकारी रुपमा गर्नसक्यो भने ठूलो भूमिका खेलेको हुन्छ ।’

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई काउन्सिलको अध्यक्षमा नियुक्त गरेको थियो । बस्नेतलाई सरकारले सर्वोच्च अदालतको न्यायाधीश सरहको सेवा सुविधा दिने गरेर नियुक्त गरेको हो ।

कान्तिपुर दैनिक लगायत विभिन्न सञ्चारमाध्यममा पत्रकारिता गरेका अध्यक्ष बस्नेतले ‘खुलानेपाल डटकम’ नामक अनलाइन सञ्चालनमा ल्याएका थिए ।

दोलखा जिल्ला स्थायी घर भएका पत्रकार बस्नेत हाल भक्तपुर जिल्लामा बस्दै आएका छन् । उनको कार्यकाल प्रेस काउन्सिलमा ४ वर्षको हुनेछ ।

बस्नेत नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य पनि हुन् । उनी कानून व्यवसायी समेत हुन् । पत्रकारहरूका बीच बस्नेत लोकप्रिय छन् । उनी अहिलेसम्म विवादमा परेका छैनन् ।
पत्रकारहरूको हकहितमा शुरुदेखि आफूलाई दुई कदम अगाडि राख्दै आएका बस्नेतको त्यही लगन र ईमान्दारिताको सम्मानमा सरकारले बस्नेतलाई प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त गरेको छ ।

Published : Sunday, 2021 June 6, 11:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया