कांग्रेसको नीतिले नेपालीहरू विश्वभरि छरिएर बस्न पाएः गोविन्द भट्टराई, युरोपका प्रतिनिधिहरूसँग सम्वाद

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराई ०४८ पछि कांग्रेसको सरकारको नीतिले नेपालीहरूलाई विदेशमा जाने बाटो खुलेको बताएका छन् ।

युरोपमा रहेका नेपाली जनसम्पर्क समिति र एनआरएनमा रहेका सदस्यहरूसँग शनिबार भएको जुम अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कांग्रेस नेता भट्टराईले ०४६ सालभन्दा पहिला नेपालीहरूलाई विदेश जान र पासपोर्ट दिने सहज व्यवस्था नरहेको बताए । ‘०४८ सालमा कांग्रेसको सरकार बन्यो । कांग्रेसले विश्वसँग जोड्ने नीति ल्यायो । पासपोर्ट दिन थाल्यो । अहिले नेपालीहरू संसारभरि छरिएर बसेका छन्’, उनले भने ।

कांग्रेसकै कारण विश्वभरि रहेका नेपालीहरू गाउँमा बसेसरह छरिएर बसेको नेता भट्टराईले बताए । कांग्रेसले ल्याएको नीतिले विश्वलाई बुझ्न सजिलो भएको उनले बताए । ‘संसारसँग जोडिएर विकास गर्ने नीति कांग्रेसको थियो । विदेशी लगानी भित्र्याउने नीति कांग्रेसको हो’, नेता भट्टराईले भने, ‘कांग्रेसको नीतिले संसारभरि नेपालीहरू छन् । विभिन्न समाजहरूमा संगठित बनेर आफ्नो हकहितमा काम गर्नुभएको छ ।’
कांग्रेसको नीतिले वैदेशिक रोजगारीमा जाने र नेपालमा रेमिटेन्टस पठाउने परम्परा शुरु भएको नेता भट्टराईले बताए । रेमिटेन्सका कारण मुलुकको अर्थ व्यवस्थामा ठूलो टेवा पुगेको उनले बताए ।

आठ अर्बभन्दा धेरै रेमिटेन्स मुलुकमा भित्रिने गरेको उनको भनाइ छ । ‘रेमिटेन्सको कम्युनिस्टले विरोध गर्छन् । विरोध गरे पनि कम्युनिस्टहरू नेपाली कांग्रेसको पछिपछि लाग्छन्’, भट्टराईले भने, ‘कम्युनिस्टले मुलुकमा कुनै नयाँ नीति ल्याउन सकेनन् । सबै नीति कांग्रेसले ल्याएको हो । कम्युनिस्टले ल्याएको कार्यक्रम वृद्ध भत्ता मात्रै हो ।’

‘लाजले युरोपका नागरिकले कम्युनिस्ट भन्दैनन् । आफूलाई सोसलिष्ट भन्छन्’, कांग्रेस नेता भट्टराईले भनेका छन् । युरोपमा ‘कम्युनिस्ट हुँ’ भन्न पनि लाज मान्ने संस्कार हुर्किएको भन्दै कांग्रेस नेता भट्टराईले भने, ‘युरोप लोकतान्त्रिक मुलुक हो । कम्युनिस्टको घोषणापत्र जर्मनीमा जन्मिएको हो । घोषणा पत्र लेख्न कार्लमार्क्स बेलायतमा गएर बनाउनु पर्‍यो ।’

‘पूर्व जर्मनी गरिव थियो । पश्चिम जर्मनी धनी थियो । बर्लिनको पर्खाल पनि ढल्यो । कार्लमार्क्स जन्मिएको देश जर्मनीमा कम्युनिस्ट नै छैन’, भट्टराईले भने, ‘लाखौ मान्छे कम्युनिस्ट शासनमा मारिए । पहिलो र दोस्रो विश्वयुद्धमा भन्दा पनि कम्युनिस्ट शासनको दमनमा मारिए ।’
युरोपसहित अन्य देशहरूमा कम्युनिस्टले भूमिगत रुपमा प्रवाशी मञ्च बनाएर बसेको भन्दै कांग्रेस नेता भट्टराईले कम्युनिस्ट विश्वबाट पलायन भइसकेको बताए ।

कम्युनिस्टको बिचार रहँदासम्म हतियारको राजनीति कायम रहने उनले बताएका छन् । ‘नेपाललाई क्युबा र उत्तर कोरिया बनाउने योजनामा कम्युनिस्ट लागेका छन्’, भट्टराईले भनेका छन् ।

कांग्रेस नेता भट्टराईले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारी कम्युनिस्टको कार्यकर्ताभन्दा माथि उठ्न नसकेको बताए ।

‘विपक्षी दलहरू बहुमत लिएर राष्ट्रपतिकोमा जान्छन् । ओलीजीको उक्साहटमा राष्ट्रपति भण्डारीले संसद विघटन गर्नु हुन्छ’, भट्टराईले भने, ‘राष्ट्रपति कम्युनिस्टभन्दा माथि उठ्न नसकेको अवस्था छ । संविधान र लोकतान्त्रिक व्यवस्थामाथि थिचोमिचो भएको छ । ओलीले संविधानसंग बाझिने अध्यादेश र विधेयक ल्याएका छन् ।’

कार्यक्रममा नेपाली कांग्रेसका युरोपका जनसम्पर्क समिति, एनआरएनका पदाधिकारी र सदस्यहरूको उपस्थितिमा परिचयात्मक एवम् अन्तर्क्रिया राखिएको थियो । विभागका प्रमुख भट्टराईले जनसम्पर्क समिति र एनआरएनका पदाधिकारी र सदस्यहरूसँग कसरी अगाडि बढ्ने भन्ने विषयमा परामर्शहरू गरेका छन् ।

कार्यक्रममा साइप्रस, बेल्जियम, डेनमार्क, जर्मनी, स्वीजरल्याण्ड, बेलायत, पोर्चुगल, स्वीडेन, आयरल्याण्ड, स्पेनका जनसम्पर्क समितिहरू सहभागी थिए ।

एनआरएनका सल्लाहकार कुल आचार्य, विद्या तिमिल्सिना, मोहन कार्की, महेश थपलिया, चित्रबहादुर मल्ल, सुजित सिंह, सीता अर्याल, युवराज गुरुङ, नन्दा नेपाली, सीपी भट्टराई, अर्जुन कटुवाल, जगत बराम, दिल गुरुङ बद्री अर्याल, शशांक शर्मा, शशि श्रेष्ठ, शिखर खड्का, जानकी, दीपिका भुसाल, विनोद घिमिरे, मदन दवाडी, सीता सापकोटा, यम सुवेदी, शरण केसी, यादव बस्नेत, विनायक अधिकाकारी, टीका गैरे, सुधिर रानालगायतको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2021 June 6, 7:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया