कांग्रेस नेता खाणद्वारा ओलीको काला कर्तुतहरूको भण्डाफोर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बालकृष्ण खाणले खड्गप्रसाद ओली प्रधानमन्त्री बनेकै दिनदेखि संविधान र विधिको शासनमाथि प्रहार शुरु भएको बताएका छन् ।

कांग्रेस नेता खाणले शनिबार ट्वीट गर्दै संविधानलाई धुजाधुजा बनाएर सरकार असंवैधानिक भइरहेको बताएका हुन् ।

‘संवैधानिक राज्यप्रणाली र लोकतान्त्रिक शासन प्रणालीमा शासन विधिको हुन्छ’, उनले भने, ‘सरकार संविधानको प्रबन्ध अनुसार बन्छ ।’ उनले भनेका छन्, ‘सरकारले संविधान र विधिको पालना र रक्षा गर्छ ।’

‘वर्तमान सरकार बनेकै दिनबाट संविधानमाथि निर्मम प्रहार गरिरहेको छ’, कांग्रेस नेता खाणले भनेका छन् । उनले भने, ‘संविधानलाई धुजाधुजा पारेर सरकार असंवैधानिक भैसकेको छ ।’

शुरुमा प्रधानमन्त्रीमा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिँदै गर्दा सांसद पदको शपथ नै लिएका थिएनन् । राष्ट्रय सभाले पूर्णता पाएको थिएन ।

अहिले दुई पटक प्रतिनिधि सभालाई ओली–भण्डारी मिलेर विघटन गरेका छन् । संसद विघटनसम्बन्धी रिट सर्वोच्च अदालतमा विचाराधीन छ ।

ओलीले संसद विघटन गरेर निर्वाचन घोषणा गरेका छन् । ओली आफैले निर्वाचन आचारसंहिता उल्लंघन गरेर मन्त्रिमण्डल पुनर्गठन गर्ने, नियुक्तिहरू गर्ने, वितरणमुखी बजेट ल्याउने, मुलुकलाई दीर्घकालीन असर पर्ने निर्णयहरू गर्दै आएका बेला कांग्रेस नेता खाणले संविधान र विधिको शासन संकटमा परेको भनेर चिन्ता जनाएका हुन् ।

Published : Sunday, 2021 June 6, 12:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया