राजेन्द्र महतोले बहुल राष्ट्रिय राज्यको विरोध गर्नेहरूलाई यसरी धम्की दिए, माफी नमाग्ने

काठमाडौं । उप–प्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले आफ्नो भनाइको बचाउ गर्दै नेपाल बहुल राष्ट्रिय राज्य नै रहेको दाबी गरेका छन् ।

काठमाडौंको बबरमहलस्थित पार्टी कार्यालयमा शनिबार मन्त्रीहरूको स्वागतमा आयोजित कार्यक्रमपछि पत्रकारहरूसँग कुरा गर्दै महतोले भने, ‘नेपाल त बहुल राष्ट्रिय राज्य छँदै हो नि ।’

उनले नेपाल विभिन्न जातीय, वर्ग समुदायको विविधता भरिएको बताए । ‘बहुलता भनेको त्यही हो’, महतोले भने, ‘त्यसैले बहुल राष्ट्रिय राज्य भनेको हो ।’

उनले बहुल राष्ट्रिय राज्य भएकाले त्यसअनुसार नियम, कानून, संविधान र सहभागिता हुनुपर्ने आफूहरूको मत रहेको बताएका छन् ।

उनले यसमा विवाद गर्नुको कुनै अर्थ नभएको बताएका छन् । ‘बहुल भनेको एक जात, एक वर्ग, एक समुदाय होइन’, महतोले भने, ‘सबैको राज्य शासनमा प्रतिनिधित्व हुनुपर्छ ।’

उनले भनेका छन्, ‘यो नभएसम्म जनताले आफ्नो अधिकार र पहिचानका लागि संघर्ष गरिरहन्छ ।’

आफूहरूको पार्टी अधिकार, पहिचान, सुशासन र समृद्धिका लागि बनेको महतोले बताएका छन् । उनले त्यो नहुँदासम्म आन्दोलन हुने बताए चेतावनी दिएका छन् ।

‘संघीयता ल्याएपछि समावेशिताको प्रारम्भ भएको छ’, महतोले भने, ‘तर पूर्णता पाएको छैन । संविधान नै अपूर्ण छ ।’

‘यदि कसैले यो देशमा अब ठीकठाक छ, केही समस्या नै छैन भन्छ भने त्यो देश र जनताका लागि धोका हो’, उप–प्रधानमन्त्री महतोले भनेका छन् ।

संविधान विपरितको अभिव्यक्ति दिएर महतोलाई मन्त्रीबाट बर्खास्थ गर्न र माफी माग्न दवाव परिरहेका बेला महतोले आफूले दिएको अभिव्यक्तिको बचाउ गरेका छन् । उनले माफी माग्न तयार नरहेको संकेत गरेका छन् ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीको कामचलाउ कम्युनिस्ट सरकारमा सहभागी भएका उप–प्रधान एवम् शहरी विकासमन्त्री महतोको अभिव्यक्तिको एमालेभित्रै विरोध भएको छ ।

Published : Saturday, 2021 June 5, 11:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया