कांग्रेस नेता श्रेष्ठको निधन, देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य महेश्वरलाल श्रेष्ठको निधन भएको छ ।

प्रजातन्त्र सेनानी ८४ वर्षीय श्रेष्ठको शनिबार बिहान ८ बजे काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

चितवन कांग्रेसका सल्लाहकार समितिका संयोजक समेत रहेका स्व.श्रेष्ठ नेपाली कांग्रेसमा एक सरल र निष्ठावान नेताका रुपमा चिनिन्थे ।

वीपी कोइराला, सुवर्णशम्शेर राणा, गणेशमान सिंहलगायतका कांग्रेसका शीर्ष नेताहरूसँगको सहयात्रीको रुपमा रहेर उनले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि भएका संघर्ष र आन्दोलनहरूमा सक्रिय योगदान पु¥याएको कांग्रेसद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ ।

तत्कालीन पञ्चायती व्यवस्थाले श्रेष्ठको सम्पत्ति समेत सर्वश्वहरण गरेको थियो । लामो समयसम्म प्रवासमा बसेका उनले जेल जीवन समेत व्यतित गरेका थिए ।

उनको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र अनुभवी नेतालाई गुमाएको शोक वक्तव्यमा उल्लेख छ । श्रेष्ठको निधनप्रति कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।

‘कांग्रेसका ज्येष्ठ राजनीतिज्ञ सभा सदस्य एवं नेपालको प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा महेश्वरलाल श्रेष्ठको निधनको खबरले मलाई मर्माहत र दुखित बनाएको छ’, देउवाले भनेका छन् ।

‘कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँले पु¥याउनु भएको सक्रिय योगदान सदा स्मरणीय रहनेछ’, शोक वक्तव्यमा देउवाले भनेका छन् ।

‘उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु’, देउवाले भने, ‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।’

यसैबीच, नेपाली कांग्रेस चितवनले पनि श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेको छ । चितवन कांग्रेसका सभापति जीतनारायण श्रेष्ठले शोक वक्तव्य जारी गरेर उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

विक्रम संवत १९९४ साल पुस २९ गते जन्मिएका श्रेष्ठले तनहुँको बन्दिपुर सशस्त्र आन्दोलनको नेतृत्व गरेका थिए ।

श्रेष्ठको निधनमा शोक मनाउन चितवन कांग्रेसले ५ दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको सभापति श्रेष्ठले बताएका छन् ।

चितवन कांग्रेसको कमलनगर नारायणगढस्थित पार्टी कार्यालयमा १३औँ दिनसम्म शोक पुस्तिका राख्ने सभापति श्रेष्ठले बताएका छन् ।

Published : Saturday, 2021 June 5, 5:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया