ओली समूह पनि सत्तापक्षकै बेन्चमा देखियो

धनगढी । एमालेका प्रदेश सभा सदस्य पठानसिंह बोहराले सुदूरपश्चिम सरकार अल्पमतमा परेको बताएका छन् ।

सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशनको दोस्रो बैठकमा बोल्दै प्रदेश सभा सदस्य बोहराले नेकपा एमालले प्रदेश सरकारबाट समर्थन फिर्ता लिइसकेको हुनाले सुदूरपश्चिम सरकार अल्पमतमा परेको बताएका हुन् ।

बजेट अधिवेशनको दोस्रो बैठकको सुरुवातमै बोल्दै बोहराले सरकार अल्पमतमा परेकाले मुख्यमन्त्रीले राजीनामा दिएर सरकार गठनको बाटो खोल्नुपर्ने बताए ।

एमाले (ओली समूह)का प्रदेश सभा सदस्य बोहराले राष्ट्रिय राजनीतिबाट सुदूरपश्चिम प्रदेश पनि अछुतो नरहेको बताए ।

शुक्रबारको बैठकमा एमालेलाई सत्तापक्षकै बेन्चमा बसाइएको थियो ।

जेठ १० गते बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

केन्द्रको निर्देशनविपरीत नेपाल पक्षको बहुमत भएको सुदूरपश्चिममा माओवादी सरकारबाट नबाहिरीने संसदीय दलले निर्णय गरेको थियो ।

सुदूरपश्चिम प्रदेश सभामा एमालेका सभामुखबाहेक २४ जना प्रदेश सभा सदस्य छन् त्यसमा ओली पक्षका ६ र नेपाल पक्षका १८ जना रहेका छन् ।

Published : Saturday, 2021 June 5, 7:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया