राजनीति पछि गरौँला, अहिले मिलेर कोरोना परास्त गरौँः खतिवडा, स्वास्थ्य सामग्री हस्तान्तरण

ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले गृहजिल्ला ओखलढुंगामा स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेका छन् ।

बिहीबार बिहान खतिवडाले जिल्ला प्रशासन कार्यालय ओखलढुंगालाई स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।

खतिवडा ९५ हजार सर्जिकल मास्क, २००० केएन ९५ मास्क, ४५० लिटर सेनिटाइजर, १५ थान पीपी सेट र १५०० थान हातधुने साबुन, १० जान कोरोना संक्रमितको शव व्यवस्थापन गर्न चाहिलने बाकससहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको स्वकीय सचिव हुकुम राईले जानकारी दिए ।

खतिवडाले ती स्वास्थ्य सामग्री ओखलढुंगाका सबै वडाहरूमा उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय ओखलढुंगालाई आग्रह गरेका छन् ।
खतिवडाले ओखलढुंगाका जनताहरू कोरोनाका कारण समस्यामा परेका बेला आफ्नो तर्फबाट सक्दो सहयोग गर्न स्वास्थ्य सामग्रीहरू ल्याएर हस्तान्तरण गरेका छन् ।

प्रत्येक वडालाई १ हजार सर्जिकल मास्क र ५ लिटरको दरले सेनिटाइजर दिइने खतिवडाले बताए । केएन ९५ मास्क, सर्जिकल मास्क र हातधुने साबुन स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूलाई दिइनेछ ।

खतिवडाले ती स्वास्थ्य सामग्रीहरू जिल्ला प्रशासन कार्यलय ओखलढुंगामार्फत वडाहरूमा पुर्‍याउन जिम्मा दिएका छन् । खतिवडाले भने, ‘जिल्ला प्रशासन कार्यालयमार्फत सबै स्वास्थ्य संस्था, वडा, सुरक्षाकर्मीहरूलाई दिँदा भेदभाव हुँदैन । समस्यामा परेकालाई जिल्ला प्रशासनसँग समन्वय गरेर हामीले काम गर्नुपर्छ ।’

कांग्रेस नेता खतिवडाले ७ लाख बराबरको स्वास्थ सामग्रीहरू ल्यएर वितरण गरेको स्वकीय सचिव राईले बताएका छन् ।

कांग्रेस नेता खतिवडाले ओखलढुंगाका जनता आफ्ठेरो पर्दा सधैँ सहयोगका लागि अग्रपंक्तिमा रहने गरेका छन् ।

अघिल्लो वर्ष पनि खतिवडाले स्वास्थ्य सामग्री वितरण गरेका थिए । उनकै पहलमा हालै सरकारले जिल्ला अस्पताल ओखलढुंगामा कोरोनाको नमूना परीक्षणका लागि पीसीआर मेसिन राख्ने निर्णय भएको छ ।

कांग्रेस नेता खतिवडाले महामारीका बेला कसैले पनि व्यक्तिगत स्वार्थलाई परित्याग गरेर जनताको जीवन रक्षा गर्न काम गर्नुपर्ने बताएका छन् ।

‘यो महामारीका बेला स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सबैभन्दा धेरै जोखिममा छन् । उनीहरूको जीवन बच्यो भने हामी सबैको जीवन बच्छ’, खतिवडाले भने, ‘मानवीय भावनाले काम गर्नुपर्छ । राजनीति पछि गरौँला । अहिले मिलेर हातमा हात मिलाएर कोरोनाविरुद्धको लडाइँमा एकसाथ लागौँ ।’

Published : Thursday, 2021 June 3, 11:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया