स्वास्थ्यकर्मीहरूका लागि मानसिक स्वास्थ्य सम्बन्धि वेबिनार आयोजना गरिंदै

काठमाडौं । ह्याप्पी माइन्ड्स नामक संस्थाले कोभिड १९ महामारीको बेलामा पनि अग्रपंक्तिमा रहेर सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीहरुका लागि मानसिक स्वास्थ्य सम्बन्धी वेबिनार आयोजना गर्न लागेको छ ।

उक्त वेबिनार बिहीबार, जेठ २० गते (३ जुन) अपरान्ह ६ बजे देखि झन्डै एक घण्टा भर्चुएल मध्यमबाट आयोजना गरिने उक्त संस्थाले जनाएको छ।

नेपालको अग्रणी अनलाइन बजार, दराज नेपाल, संगको सहकार्यमा उक्त वेबिनार आयोजना गर्न लागिएको हो।

महामारीको बेलामा पनि अग्रमोर्चामा खटेर सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीहरुले तनाव, विषाद लगायत अन्य मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरु व्यहोरी रहेको विभिन्न अध्ययनहरुले देखाएका छन्। त्यसैले उहांहरुका व्यावहारिक समस्याबारे जानकारी प्राप्त गरी विज्ञहरुद्वारा परामर्श दिने उदेश्यले उक्त वेबिनार आयोजना गर्न लागिएको ह्याप्पी माइन्ड्स संस्थाकी प्रमुख कार्यकारी श्रीया गिरीले बताइन् ।

“उहाँहरुको आवश्यकतालाई ध्यानमा राखी हामी मानसिक स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका अन्य संस्थाहरुसंग सहकार्य गरी दीर्घकालीन सेवा पुराउन पनि प्रतिबद्ध छौं,” उनले भनिन् ।

इच्छुक स्वास्थ्यकर्मीहरुले यो लिंकमा गएर आफ्नो विवरण दर्ता गरे पछि आयोजक संस्था ह्याप्पी माइन्ड्सले जूम लिंक र पास कोड पठाउनेछ ।

https://docs.google.com/forms/d/e/1FAIpQLSd5H5eYSwNoYvtb42DiuvniEmSev4C0aPRmtEUFcJGODMPKlQ/viewform?usp=sf_link

लकडाउनका कारण आफ्नै कर्मचारीहरूले मानसिक स्वास्थ्य समस्या भोगी रहेको थाहा पाएपछि परामर्श सेवाबारे बुझ्दै जाँदा दराजको ह्याप्पी माइन्ड्ससंग सम्पर्क भयो । कोभिड महामारीको बेलामा पनि आफ्नै स्वाथ्यलाई जोखिममा राखेर रातदिन अग्रपंक्तिमा खटीरहेका स्वास्थ्यकर्मीहरूलाई सहयोग पुगोस् भन्ने उद्देश्यले ‘कर्पोरेट सोसियल रेस्पन्सिबिलिटी’ अन्तर्गत दराजले ह्याप्पी माइन्ड्ससंग मिलेर यो कार्यक्रम आयोजना गर्न लागेका हो । दराजले उक्त वेबिनारमा सहभागी भएर लाभान्वित हुन नेपाल भरिरहेका सबै स्वास्थ्यकर्मीहरूलाई अनुरोध पनि गरेको छ ।

उक्त वेबिनारमा साइकोलोजिस्ट बिनोद पौडेल तथा मानसिक स्वास्थ्य सम्बन्धी नर्स सुस्मिता बोगटीले तनाव, चिन्ता, त्रास, अनिद्रा लगायत विभिन्न मानसिक स्वास्थ्य समस्याबारे स्वास्थ्यकर्मीहरूका जिज्ञासाको जवाफ दिनेछन् । उनीहरूले आफ्नो मानसिक स्वास्थ्यको कसरी ख्याल गर्ने तथा कसरी तनाव मुक्त हुनेबारे विभिन्न विधिहरू पनि सिकाउने छन् ।

उक्त वेबिनारमा भाग लिन कुनै शुल्क नलाग्ने र ह्याप्पी माइन्ड्स तथा दराजका फेसबुक पेजहरूबाट पनि प्रत्यक्ष प्रसारण गरिने आयोजक संस्थाले जनाएको छ ।

ह्याप्पी माइन्ड्स नेपालभित्र र संसार भरिरहेका नेपालीहरुलाई मानसिक स्वास्थ्य सम्बन्धी परामर्श तथा थेरापी सत्रहरु संचालन गर्ने एक अनलाइन प्लेटफर्म हो । उक्त संस्थासंग अनुभवी तथा परामर्श सेवा प्रदान गर्न अनुमति प्राप्त साइकोथेरापिस्टहरू आबद्ध छन् ।

Published : Wednesday, 2021 June 2, 7:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया