मधेसी दलका नेताहरू टुटफुटमा लागे, कार्यकर्तालाई कांग्रेसमा स्वागत छः नेता शाह

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अभिषेकप्रताप शाहले मधेसी केन्द्रित राजनीतिक दलका नेताहरूमाथि विश्वास नगर्न अपील गरेका छन् ।

कांग्रेस नेता शाहले सामाजिक सञ्जालमार्फत मधेस केन्द्रित दल र त्यसका नेताहरूले व्यक्तिगत स्वार्थका लागि फुट्ने र जुट्ने कार्यले तराईका जनताले दुःख भोग्नु परेको बताए ।

‘मधेसी दल तथा त्यसका नेताहरू यस्तै फुट–जुट हुँदै गर्छन्’, उनले भने, ‘सबैलाई मेरो आग्रह छ । आउनुस् नेपाली कांग्रेस पार्टीलाई साथ दिनुस् । मिलेर लोकतन्त्रलाई बालियो बनाऔँ ।’

जनता समाजवादी पार्टी, नेपालभित्रको विवाद र एकले अर्कालाई कारबाही गरेर सत्ताका लागि भागदौड गरेपछि कांग्रेस नेता शाहले पार्टी विभाजनप्रति चिन्ता जनाएका हुन् ।

कांग्रेस नेता शाहले व्यक्तिगत स्वार्थका लागि सत्ताको दौडमा पार्टी नै विभाजन गर्ने कार्य दुःखद् रहेको बताएका छन् । ‘पार्टी विभाजन गर्ने कुरा राम्रो होइन’, उनले भने, ‘व्यक्तिगत स्वार्थका लागि सधैँ मधेसी जनतालाई धोका दिने कुरा पनि राम्रो होइन ।’

Published : Tuesday, 2021 June 1, 9:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया