जलजलामा बुधबारदेखि एन्टिजेन परीक्षण गरिने, गाउँपालिकासँग समन्वय गरेर राहत वितरण गर्न अपील

लामाखेत । पर्वत जिल्लाको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’ले गाउँपालिकाभित्र वितरण गरिने राहत, स्वास्थ्य सामग्री र अन्य सहयोगहरू गाउँपालिकासँग समन्वय गरेर वितरण गर्न अपील गरेका छन् ।

महामारीका बेला गाउँपालिकाभित्र वितरण गरिने राहत, स्वास्थ्य सामग्री वा अन्य सहयोगहरू एकद्वारा प्रणालीमार्फत वितरण गर्न यसअघिनै अपील गरेको जनाएका अध्यक्ष मल्लले गाउँपालिकासँग समन्वय गरेर आगामी दिनमा सहयोग वितरण गर्न अनुरोध गरेका छन् ।

‘महामारीको जोखिमबाट नागरिकको जीवनरक्षा सँगसँगै उनीहरूको जीविकोपार्जनको निम्ति हरेक विकल्पहरूको खोजी गर्ने र आम नागरिकलाई सरकार साथमै भएको अनुभूति दिने हाम्रो अभियान विगतदेखि नै निरन्तर जारी छ’, अध्यक्ष मल्लद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ ।

‘गाउँपालिकाभित्र वितरण गरिने सबै राहत तथा स्वास्थ्य सामग्रीहरू एकद्वार प्रणाली मार्फत गाउँपालिकासँग सलाह गरि वितरण गर्ने नीतिलाई संस्थागत गर्न मैले यसअघिनै विभिन्न संघ संस्था र सहयोगदाताज्यूहरूलाई गाउँपालिकाको तर्फबाट अपील गरिसकेको छु’, मल्लले भनेका छन् ।

‘गाउँपालिकाले गरेको संस्थागत आग्रह र अनुरोधलाई अवज्ञा गर्दै केही संघसंस्था हरुले पैसा सहयोग को आह्वान गरि आफूखुसी पैसा उठाउने र आफूखुसी खर्च गरेका छन्’, विज्ञप्तिमा मल्लले भनेका छन्, ‘गुनासाहरू पटक–पटक गाउँपालिकामा आएको हुँदा यसरी आफूखुसी नगरी दिनुहुन अनुरोध छ ।’

‘सहयोगदाताहरूले पनि गाउँपालिकासँग सल्लाह र समन्वय गरि गाउँपालिका मै हस्तान्तरण गरिदिन पनि पुनः अनुरोध गर्दछु’, अध्यक्ष मल्लले भनेका छन् ।

अध्यक्ष मल्लले महामारीको संवेदनशील परिस्थितिमा सामूहिक सहयोग र सहकार्यविना कुनै पनि लक्ष्यमा पुग्न नसकिने बताएका छन् ।

अन्यत्रका स्थानीय तहमा भएका अभ्यासहरूलाई समेत दृष्टीगत गरी जलजला गाउँपालिकाले पनि आपतकालीन राहत तथा विपद् व्यवस्थापनको छुट्टै नीति बनाएको मल्लले उल्लेख गरेका छन् ।

‘गाउँपालिकाले निर्माण गरेको विधि र पद्धतिको अधिनमा रहेर सहयोग गर्दा मात्रै कुनैपनि राहत तथा अन्य स्वास्थ्य सामग्रीहरू वास्तविक पीडितकोमा पुग्ने, राहतको प्रभावकारिता बढ्ने र त्यसको खर्च प्रक्रिया समेत पारदर्शी र जवाफदेही हुनेहुँदा सो इच्छा सहयोग गर्नुहुने देश तथा विदेशस्थित सहयोगदाताज्यूहरूले सहयोग गर्नुभन्दा पहिला गाउँपालिकासँग सम्पर्क गरि आबश्याकक्ता हेरेर गाउँपालिकाले स्थापना गरेको आपतकालीन राहत कोषमा जम्मा गरि एकद्वार प्रणालीमार्फत मात्रै वितरण गर्ने कार्यमा सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु’, अध्यक्ष मल्लको अपील छ ।

‘गाउँपालिकाको नीतिभन्दा बाहिर गई आफूखुसी पैसा दिनेलिने, वितरण गरिने जस्तोसुकै राहत तथा सहयोगको जिम्मेवार यहाँहरू स्वयं हुनुहुने व्यहोरा समेत पुनः जानकारी गराउँदछौँ’, विज्ञप्तिमा उल्लेख छ ।

मल्लले गाउँपालिकाले कोभिड १९ परीक्षण तथा उपचारलाई तिव्रता दिएको पनि जनाएका छन् ।

दोस्रो भेरियन्ट आएपछि हालसम्म १६०१ जनामा नमूना परीक्षण भै सकेको बताएका मल्लले ३६५ जना कोभिड–१९ देखिएको बताएका छन् ।

तीमध्ये १९१ जना निको भैसकेका छन् । १६२ जना अझैपनि सक्रिय संक्रमित छन् । कोरोनाबाट जलजला गाउँपालिकामा १२ जनाको दुःखद् निधन भएको अध्यक्ष मल्लले बताएका छन् ।

गाउँपालिकाले बुधबारदेखि वडा तथा टोलहरूमा एन्टिजेन टेष्टमार्फत तुरुन्तै २० मिनेटमा रिपोर्ट आउने गरि १००० जनालाई चेक गर्न लागेको अध्यक्ष मल्लले विज्ञप्तिमा जनाएका छन् ।

उनले कोभिड–१९ सँग मिल्दो लक्षण देखिएका तथा चेक गर्न चाहाने सम्पूर्ण व्यक्तिलाई आफ्नो पायक पर्ने ठाउँमा गई परीक्षण गर्न अनुरोध गरेका छन् ।

Published : Tuesday, 2021 June 1, 7:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया