काठमाडौंमा ‘हाम्रो ढुङ्गेधारा क्लव’द्वारा खाद्यान्न वितरण, भारतीय नागरिकले पनि लिए सहयोग

काठमाडौं । ‘हाम्रो ढुङ्गेधारा युथ क्लव’का अध्यक्ष धिरेन्द्रबिक्रम मोक्तानसहितका पदाधिकारी र सदस्यहरूको पहलमा काठमाडौं महानगरपालिकाको वडा नं. ४ र ५ मा खाद्यान्न सहयोग गरिएको छ ।

क्लवका सदस्य रामकुमार गुरुङ, लक्ष्मण गुरुङसहितका समाजसेवीहरूको सहयोगमा निषेधाज्ञाबाट समस्यामा परेका ८५ परिवारलाई खाद्यान्न सहयोग गरिएको क्लवका अध्यक्ष मोक्तानले जानकारी दिए ।

खाद्यान्न सहयोग लिनेमा दैनिक मजदुरी गर्ने, फुटपाथमा पसल गर्ने, कपाल काट्ने लगायतलाई खाद्यान्न उपलब्ध गराइएको मोक्तानले बताए ।

‘हामी क्लवका सहयोगी साथीहरूको पहलमा काठमाडौं महानगरपालिकाको वडा नं. ४ र ५ का समस्यामा परेकाहरूको पहिचान गरेर खाद्यान्न दिएका हौँ’, अध्यक्ष मोक्तानले भने, ‘हामीले धेरै ठूलो सहयोग गरेका होइनौँ । बलबुताले भ्याएसम्म मानव सेवा गरौँ भनेर सानो सहयोग गरेका हौँ ।’

क्लवका अध्यक्ष मोक्तानले मजदुरी गर्न भारतबाट आएर ४ र ५ नं. वडामा बसेका भारतीय नागरिकहरूलाई पनि खाद्यान्न सहयोग गरिएको बताए । उनले भने, ‘हामीले समस्यामा परेका श्रमिक वर्गलाई भेदभाव नगरेर खाद्यान्न उपलब्ध गराएका छौँ । कसैलाई खाद्यान्न समस्या भयो भने निषेधाज्ञा अवधिभरि हामीले क्लवमार्फत सक्दो सहयोग गर्ने छौँ ।’

अध्यक्ष मोक्तानले खाद्यान्न सहयोग गर्ने गुरुङ परिवारका साथै वडा नं. ५ का वडाध्यक्ष रमेश ढुंगेल, वडा सदस्य मीनासिंह प्रजापतिलगायतलाई धन्यावाद दिएका छन् ।

नेपाली कांग्रेसका युवा नेता समेत रहेका क्लवका अध्यक्ष मोक्तानले यसअघि कोरोना महामारीका बेला स्वास्थ्य सामग्री वितरण समेत गरेका थिए ।

Published : Tuesday, 2021 June 1, 7:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया