कांग्रेसका यी स्वयंसेवीहरूले फोनबाट कोरोनाका प्राविधिक सामग्रीमा निःशुल्क सेवा दिने

काठमाडौं । नेपाली कांग्रेसले कोरोना महामारीका बेला सर्वसाधारणहरूलाई सहयोग गर्ने उदेश्यले ‘बायो मेडिकल इञ्जिनियरहरूको स्वयंसेवी समूह निर्माण’ गरेको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ति जारी गरेर कोरोना उपचारका उपकरणहरूको पुनर्निर्माणमा अस्पताल, स्वास्थ्य संस्थाहरू एवं आवश्यक व्यक्तिहरूलाई देशव्यापी रूपमा निःशुल्क सेवाको ‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’ शुरु गरिएको जनाएका हुन् ।

कोरोनाको महामारीबाट दैनिक रूपमा सय बढिको मृत्युु भइरहेको छ । ‘यो स्थिति नियन्त्रण गर्दै नागरिकको रक्षा गर्न र महामारी उपर विजय हासिल गर्न हरसम्भव उपाय अवलम्बन गर्न जरुरी छ’, विज्ञप्तमा भनिएको छ ।

त्यस क्रममा विषयगत सेवा उपलब्ध गराउन बायो मेडिकल इञ्जिनियरहरूको स्वयंसेवी समूह निर्माण गरेर निःशुल्क सेवाको ‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’ प्रारम्भ गरिएको कांग्रेसले जनाएको छ ।

‘होम आइसोलेसनमा रहनुभएका लाख बढि संक्रमित मध्ये उपकरण प्रयोग गर्नुपर्ने अवस्थाका कयौंले पनि यस्तै समस्या भोग्नु परेको छ’, कांग्रेसले भनेको छ, ‘यहि तथ्यलाई ध्यानमा राखेर यो अभियान शुरु गरिएको हो ।’

‘देशभरका अस्पताल, स्थानीय स्वास्थ संस्थाहरू अथवा होम आइसोलेसनमा रहेका संक्रमित कसैले पनि प्रयोग गरिरहेका उपकरणहरूमा कुनै पनि प्रकृतिको प्राविधिक समस्या जहाँ उत्पन्न भएका छन् तिनको निःशुल्क मर्मत र समाधान गर्ने’, कांग्रेसको विज्ञप्तिमा उल्लेख छ ।

‘उपकरणको सहि ढंगले प्रयोग गर्न आवश्यक ज्ञान जरुरी परेकालाई स्थिति अनुकुल प्रत्यक्ष अथवा जुम, वाट्सएप, भाइभर, इमो, म्यासेन्जर, फोन आदि कुनै माध्यमबाट प्रशिक्षित गर्ने’, कांग्रेसले भनेको छ ।

सहजीकरण अभियानमार्फत लाभान्वित हुन चाहने अस्पताल, स्थानीय स्वास्थ संस्था, संक्रमित ब्यक्ति, संक्रमितका परिवार या स्थानीय स्वयंसेवीले ‘केन्द्रीय रेस्पोन्स टिम’ वा अभियानको प्रदेश संयोजक या सदस्यलाई सम्पर्क राख्न सक्ने कांग्रेसका प्रवक्ता शर्माले जनाएका छन् ।

‘सम्भव भएसम्मका ठाउँमा बायो मेडिकल इञ्जिनियरहरूले भौतिक रुपमै पुगेर सेवा दिनुहुनेछ भने स्थिति अनुरुप प्रविधिको अन्य विविध माध्यमबाट लाभान्वित हुन सकिनेछ’, विज्ञप्तिमा भनिएको छ ।

सूचना, सञ्चार तथा प्रचार विभाग सदस्य एवं प्रविधि उपसमितिका संयोजक ई. दीपेश बिष्ट (९८५१०७६०३०), सिडेनका अध्यक्ष ई. उमेशप्रसाद थानी (९८५१०८९४४८) र विभाग सदस्य तथा नेपाल मेडिकल एसोसिएसनका पूर्व अध्यक्ष डा. अन्जनीकुमार झा (९८५१११७५३८) रहेको ‘मूल समन्वय समिति’ निर्माण गरिएको छ ।

बायोमेडिकल इञ्जिनियरहरुको देशव्यापी रूपमा संयोजन ईञ्जिनियर हरिराम दवाडीले गर्नेछन् ।

Published : Tuesday, 2021 June 1, 6:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया