महेश बस्नेतको मासु-भातले यी चार शीर्ष नेताको पद फुत्कियो, खुसीयालीमा तराईमा दीपावली

काठमाडौं । एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदमलाई स्वागत गरेर सरकारमा सहभागी हुने तयारी गरेका बेला जनता समाजवादी पार्टी, नेपालले आफ्ना अध्यक्ष महन्थ ठाकुरसहित चार शीर्ष नेतालाई कारबाही गरेको छ ।

अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय कार्यकारिणी अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, केन्द्रीय कार्यकारिणी सदस्यद्वय सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई कारबाही गरेर पार्टीबाट निष्कासन गरेका हुन् । कारबाहीमा परेका यी चार नेताहरू पूर्व राष्ट्रिय जनता पार्टी (रासपा)का नेताहरू हुन् ।

सोमबार ललितपुरको बालकुमारीस्थित पार्टी मुख्यालयमा बसेको सोमबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले ठाकुरसहितका चार नेताहरूलाई पार्टीबाट निष्कासन गरेको प्रचार विभाग प्रमुख डम्बर खतिवडाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री खड्गप्रसाद ओलीको सरकार प्रारम्भदेखि नै लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशीता, धर्मनिरपेक्षतालगायत संवैधानिक मूल्य मान्यताप्रति सकारात्मक थिएन ।’

‘जनताको निर्वाचित प्रतिनिधिसभालाई दुई/दुई पटक विघठन गर्ने जस्तो अलोकतान्त्रिक, असंवैधानिक, निरंकुश, अधिनायकवादी, प्रतिगमानकारी कदम ओलीले चाले’, विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा ओली सरकारलाई साथ दिने कल्पनासमेत हाम्रो पार्टीले गर्न सक्दैनथ्यो ।’

‘हन्थ ठाकुरलगायत उपरोक्त नेताहरूले ओली सरकारले मधेशका माग मुद्दा सम्बोधन गर्‍यो भन्ने भ्रम छर्दै संकटग्रस्त ओली सरकारलाई काँध थाप्ने र प्रतिगमनको मतियार बन्ने काम गरे। बारम्बार आग्रह गर्दा पनि गल्ति सच्याउने काम भएन’, विज्ञप्तिमा भनिएको छ ।

निष्कासन गरिएका नेताहरू केही समययता पार्टीको नीति, सिद्धान्त, विचार, एजेण्डा र कार्यदिशाविपरीत, पार्टी स्थापना र एकताको भावनालाई हानिनोक्सान पुग्नेगरी, पार्टी विधान र नियमावलीले निर्दिष्ट गरेका लोकतान्त्रिक मूल्य मान्यता, विधि, पद्धति र राजनीतिक संस्कृतिको बर्खिलाप हुनेगरी, गुटगत गतिविधि गर्ने गराउने कार्यमा संलग्न रहेको आरोप विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘जेठ ८ र ९ गतेको केन्द्रीय कार्यकारिणी समितिको बैठक समझदारीमै बोलाइएको थियो। २०७८ जेठ ८ गते पार्टी केन्द्रीय कार्यकारिणीको बैठकले सर्वसम्मतले उनीहरुमाथि स्पष्टीकरण सोध्ने, यथोचित उत्तर नआएमा पार्टी विधान र नियमावलीबमोजिम कारबाहीको थप प्रक्रिया अगाडि बढाउने निर्णय गर्‍यो’, विज्ञप्तिमा भनिएको छ ।

‘सोहीबमोजिम पार्टी केन्द्रीय कार्यालयले मिति २०७८/०२/११ गते पहिलोपटक तीनदिने र मिति २०७८/०२/१५ गते दोस्रोपटक २४ घण्टे स्पष्टीकरण पत्र पठाएको हो’, विज्ञप्तिमा भनिएको छ ।

‘कुनै प्रत्युउत्तर नदिनेमात्र हैन, पार्टी सम्पर्कमै नआउने र पार्टी प्रक्रियाको अवज्ञा गर्ने गम्भीर गल्ती पुनश्च दोहोरियो’, जसपाद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ ।

‘तसर्थ, मिति २०७८/०२/१७ गते पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठक बसी पार्टी विधान र राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्थाबमोजिम पार्टी सदस्यसमेत नरहने गरी कार्यकारिणी सदस्यहरू महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री ओलीलाई साथ दिएका ठाकुर–महताले सरकारमा सहभागी अन्तिम तयारी गरिरहेका बेला अध्यक्ष यादवले कारबाही गरेका छन् ।

जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा ठाकुर–महतोसँग करीव २० जना मात्रै कार्यकारिणी सदस्य छन् । कार्यकारिणी समितिमा अल्पमतमा रहेपछि ठाकुर–महतोले बैठक छल्दै आएका थिए ।

ठाकुरलाई अत्यन्तै अनुदारवादी नेताको आरोप लाग्दै आएको छ । आफूले भने जस्तो भएन भने ठाकुर झड्ङग रिसाउँछन् । ठाकुर र महतोले जातीय राजनीति गर्दै आएका छन् । उनीहरूको जातीय र क्षेत्रीय राजनीति गरेका कारण बेलाबेला कठोर आलोचना सहनु पर्दै आएको छ ।

ठाकुर–महतोसहित १४ सांसदलाई महेश बस्नेतले भक्तपुर जिल्लाको डोलेश्वर रिसोर्टमा लगेर मदिरासहित मासु, भात खुवाएका थिए । त्यही बैठकमा सहभागी बस्नेतको दवावमा राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाइएको थियो । ठाकुर–महतोलाई महेश बस्नेतको मासु र भात महँगो भएको छ । डोलेश्वर रिसोर्टको काण्डपछि जसपा मिल्नै नसक्ने अवस्थामा पुगेका थिए ।

Published : Tuesday, 2021 June 1, 3:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया