अहंकारी ओली सरकारको अन्त्य हुँदैछः कांग्रेस नेता रिजाल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजालले प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको अहंकारी सरकारबाट जनताले छिटै मुक्ति पाउने बताएका छन् ।

कांग्रेसले सोमबार सिंहदरबारमा गरेको पत्रकार सम्मेलनमा नेता रिजालले प्रधानमन्त्री ओली नेतृत्वको सरकार अहंकारी भएको बताए ।

‘अहंकारी सरकारबाट जनताले छिटै मुक्ति पाउँछन्’, उनले भनेका छन्, ‘अदालतबाट न्याय मिल्नेछ । ओलीले प्रतिनिधि सभा विघटन गर्न मिल्दैन ।’

उनले बजेट वा सरकार लोकप्रिय होला भन्ने चिन्ता कांग्रेसले नगरेको बताएका छन् । कांग्रेसले कोरोना महामारीका बेला जनताको चिन्ता गरिरहेको बताएका छन् ।

उनले भने, ‘यो सरकार लोकप्रिय होला भन्ने चिन्ता छैन । बरू जनताको चिन्ता हो । जनता कोरोना महामारी र बढ्दो महँगीमा छन् ।’ उनले ओली सरकार कहिल्यै पनि वास्तविकताको धरातलमा नआएको बताएका छन् ।

‘जनता दुःखमा छन् । कोरोनाको कहरमा छन् । अर्थतन्त्र अझै संकुचित हुन्छ भन्ने चिन्तामा छ’, कांग्रेस नेता रिजालले भनेका छन् ।

‘रोजगारी गुम्छ भन्ने चिन्तामा छ’, उनले भने, ‘प्रधानमन्त्री चकाचक विकास भएको छ भनेर बस्नुभएको छ । योभन्दा लाज लाग्ने कुरा अरु के हुन्छ ?’

प्रधानमन्त्री र अर्थमन्त्रीको निर्वाचन क्षेत्र पटक–पटक बजेटमा परेको पनि उनले बताए ।

सरकारले जनतालाई ऋण र करको भार थुपारेको आरोप कांग्रेसले लगाएको छ । सरकार हावादारी गफमा लागेको र भ्रमबाट मुक्त हुन नसकेको आरोप रिजालको छ ।

Published : Monday, 2021 May 31, 10:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया