कांग्रेसको सफ्टवेयर बन्द, १०६ स्थानको क्रियाशील सदस्यता जेठ २५ भित्र इन्ट्री गर्न आग्रह

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले १०१ स्थानका लागि नामावली इन्ट्री गर्ने सफट्वेयर बन्द गरिएको जनाएको छ ।

बैठकको निर्णयानुसार गत वैशाख ३० गते, २०७८ मा ४५ जिल्लाका ८० स्थान र जेठ १५ गते १६ जिल्लाका २१ स्थान समेत गरी कूल १०१ स्थानको क्रियाशील सदस्यताको नामावली पार्टीको आधिकारिक वेवसाइटमा सार्वजनिक गरिएको सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

कुनै त्रुटी भएमा सच्याउनका लागि नयाँतर्फको नामावलीका सम्बन्धमा क्षेत्रीय कार्यसमितिले जिल्लामार्फत केन्द्रमा र नवीकरण तर्फको नामावलीका सम्बन्धमा जिल्ला कार्यसमितिले केन्द्रमा तोकिएको समयभित्र लेखी पठाउनका लागि जानकारी गराएको विज्ञप्तिमा उल्लेख छ ।

देशभरबाट क्रियाशील सदस्यताको नामावली सफ्टवेयरमा इन्ट्री भैरहेको २०७ स्थानमध्ये उक्त १०१ स्थान बाहेक बाँकी १०६ स्थानमा बाँकी रहेका नामावली इन्ट्री गर्नका लागि २०७८ जेठ २५ गते राति १२ बजेसम्मका लागि कम्प्युटर सफ्टवेयरलाई खुला गरिएको कांग्रेसले जनाएको छ ।

सम्बन्धित प्रतिनिधि सभा क्षेत्रले नयाँ तर्फको र जिल्लाले नवीकरणतर्फको सम्पूर्ण नामावली तोकिएको मितिभित्र केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा इन्ट्री गर्नु हुन र कुनै त्रुटि भएको भए सच्याउन कांग्रेसले भनेको छ ।

‘केन्द्रबाट क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरिएका १०१ स्थानले तत्कालै र बाँकी १०६ स्थानले पनि यथाशीघ्र छिटो क्रियाशील सदस्यताका लागि गरेको प्रस्ताव, सिफारिश र निर्णय सम्बन्धित वडा कार्यसमिति, पालिका कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिको बैठकको निर्णय प्रतिलिपी, क्रियाशील सदस्यताको इन्ट्री गरेको नामावलीको प्रमाणित (नयाँको क्षेत्रले र नवीकरणको जिल्लाले प्रमाणित गरेको) सूची, सदस्यता शुल्क, सहयोग रकम लगायतका आवश्यक कागजात विवरण क्षेत्रीय कार्यसमितिले जिल्लामार्फत केन्द्रमा र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता सम्बन्धी केन्द्रबाट पठाइएको परिपत्र बमोजिमको सम्पूर्ण प्रक्रिया पुर्‍याई उल्लेखित सम्पूर्ण कागजात विवरणहरू तत्काल केन्द्रमा पठाउनु हुन समेत यसै विज्ञप्ति मार्फत् अनुरोध गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

Published : Sunday, 2021 May 30, 7:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया