बाग्लुङ तरुण दलका कोषाध्यक्षद्वारा ढोरपाटन– ६ मा स्वास्थ्य सामग्री वितरण

ढोरपाटन । नेपाल तरुण दल बाग्लुङका कोषाध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता देवेन्द्र घर्ती मगरको नेतृत्वमा बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका– ६ का सबै घरहरूमा स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

कोरोना महामारीको दोस्रो लहरले समस्या बनाएका बेला तरुण दलका कोषाध्यक्ष मगरले स्वास्थ्य सामग्रीहरू वितरण गरेका छन् । उनले कोरोना महामारीबाट जनतालाई बचाउन सबैले आ–आफ्नो ठाउँबाट सक्ने सहयोग गर्नुपर्ने बताए ।

कोषाध्यक्ष मगरले आइतबार वडा नं. ६ का प्रत्येक घरघरमा मास्क, सेनिटाईजर, औषधि र डिटोल साबुनको पोको बनाएर स्वास्थ्य सामग्रीहरू वितरण गरेका हुन् । उनले स्वास्थ्य सामग्री दिँदै गर्दा कोरोनाभाइरसबाट कसरी बच्ने भन्नेबारेमा पनि जनचेतना फैलाएका छन् ।

स्वास्थ्य सामग्री वितरण कार्यक्रममा वडाध्यक्ष एवम् नेपाली कांग्रेसका नेता जीवनकुमार पुन, नेपाली कांग्रेसका ढोरपाटन नगरपालिका वडा नं. ६ का सभापति शेरमान बुढा, समाजसेवी केशव थापा मगर, नेपाल तरुण दलका वडा नं. ६ का कार्यसमितिका अध्यक्ष सुरज अदै मगर, उपसभापति दीपक भण्डारी, सचिव मदन भण्डारी, सदस्य भरत पुन, कांग्रेसका कृयाशील सदस्यहरू प्रेम भण्डारी, रमेश भण्डारी युवा नेता हेबिन्द्र खड्का, चन्द्र भण्डारी, मदन अदैलगायतको उपस्थिति रहेको थियो ।

तरुण दलका कोषाध्यक्ष मगरको नेतृत्वमा ढोरपाटन नगरपालिका वडा नं. ६ का युवाहरूको आर्थिक सहयोगमा स्वास्थ्य सामग्री काठमाडौंमा किनेर लगिएको थियो । स्वास्थ्य सामग्री खरिद गरेर वितरण गर्ने कार्यक्रम सहयोग गर्ने सबैलाई कोषाध्यक्ष मगरले धन्यावाद दिएका छन् ।

कोषाध्यक्ष मगरले ढोरपाटन नगरपालिका– ६ को खानी, खोरिया, चामिदुवार, छालाहाल्ना, मोराङ्ग, पुरानोगाउँ र गादीखोलामा स्वास्थ्य सामग्री वितरण गरेका छन् । सोमबार कुदुम, ओख्रेनी, पानीपोखरा र मातेगाउँमा स्वास्थ्य सामग्री वितरण गर्ने कार्यक्रम रहेको मगरले बताए ।

Published : Sunday, 2021 May 30, 5:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया