कांग्रेस नेता राणाद्वारा एमालेको चुनावी घोषणा पत्रको विरोध

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणाले एमाले भन्ने पार्टीले बजेटका नाममा चुनावी घोषणा पत्र ल्याएको टिप्पणी गरेका छन् ।

कांग्रेस नेता राणाले अर्थमन्त्री विष्णु पौडेलद्वारा शनिबार अध्यादेशबाट ल्याइएको बजेट कार्यान्वयनमा भन्दा पनि भोट बटुल्न ल्याइएको आरोप लगाए ।

‘यो बजेटभन्दा चुनावी घोषणा पत्र जस्तो आयो’, कांग्रेस नेता राणाले भने, ‘यो बजेट कार्यान्वयन गर्न ल्याइएको होइन, जनतालाई भ्रम सिर्जना गर्न ल्याइएको घोषणा पत्र हो ।’

‘अनि, कामचलाउ सरकारले अध्यादेशबाट ल्याएको बजेटको हैसियत कति होला ?’, पूर्व अर्थ राज्यमन्त्री राणाले प्रश्न गरेका छन् ।

निर्वाचनका बेला कथित वाम गठबन्धनका नाममा खड्गप्रसाद ओलीले राजनीतिक स्थायित्व र समृद्धिको नारा दिएर जनतालाई अलमलमा पारेर झण्डै दुईतिहाइको बहुमत पाएका थिए ।

सिंहदरबारको सानो कोठाबाट फेरि जनतालाई भ्रममा पार्न कामचलाउ कम्युनिस्ट सरकारका प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलले बजेट ल्याएको राणाको भनाइ छ ।

बहुमत पाए पनि सरकार र पार्टी चलाउन नसक्दा ओलीले नेकपा भन्ने पार्टीलाई नै दुई टुक्रा बनाए ।

अहिले एमालेको पनि एउटा समूहलाई बोकेर चुनावी कामचलाउ सरकार चलाइरहेका छन् । आफ्नै पार्टीका वरिष्ठ नेता माधव नेपाल समूहलाई कारबाहीको श्रृङ्खला चलाएका छन् ।

निर्वाचन घोषणा गरेका ओलीले वितरणमुखी र मतदातालाई प्रलोभनमा पार्ने गरेर बजेट ल्याएको आरोप छ । निर्वाचनका बेला ओलीले वृद्ध भत्ता ५ हजार बनाएर घरघरमा ल्याइदिने आश्वासन दिएको झण्डै चार वर्षमा एक हजार थपेर ४ हजार बनाएका छन् ।

Published : Saturday, 2021 May 29, 10:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया