कम्युनिस्ट सरकारले अक्सिजन नदिँदा ६ को मृत्यु, ओलीलाई महँगो पर्ने कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले अक्सिजनको अभावमा पोखराको एक अस्पतालमा सुत्केरी महिलासहित ६ जनाको एकैसाथ निधन भएको घटना अत्यन्तै दुःखद र कारुणिक रहेको भन्दै चिन्ता जनाएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गरेर भनेका छन्, ‘समयमै अक्सिजन उपलब्ध हुने सुनिश्चित ब्यवस्थापनको समन्वय सरकारले अझै गर्न नसक्नुको परिणाममा उपचाररत बिरामीको ठूलो संख्यामा एकसाथ निधनले राज्यको अकर्मण्यता पुष्टि त गरेको छ ।’

प्रवक्ता शर्माले सरकार कहाँ छ भन्ने गम्भीर प्रश्न पनि सृजना गरेको बताएका छन् ।

‘जनताको मृत्यु यसरी कहालीलाग्दो ढंगले हुँदै गर्दा सरकार मानवीय कर्तव्यमा भन्दा असंवैधानिक कर्ममा लिप्त रहनु इतिहासकै दुर्भाग्य भएको छ’, शर्माले भनेका छन् ।

‘देशभरका सरकारी हुन् या निजी क्षेत्रका अस्पताल अक्सिजनको अभाव हुन नदिन अत्यावश्यक समन्वय गर्ने अनिवार्य दायित्व सरकारको हो’, उनले भने ।

‘सरकारले यो दायित्व निर्वाह नगरेर हुने र भएका गम्भीर घटनाहरूको जिम्मेवार पनि सरकार नै हो’, कांग्रेसका प्रवक्ता शर्माले भने, ‘नेपाली कांग्रेस मृत्युको तथ्यांक राख्ने भूमिकाबाट सरकारमा रहँदासम्म जनताको जीवन रक्षाका लागि सम्पूर्ण रुपले केन्द्रित हुन प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई अपील गर्दै लापरवाहीले भएका प्रत्येक मृत्युु महँगो पर्ने चेतावनी दिन चाहन्छ ।’

‘अक्सिजनको अभावमा एकसाथ जीवन गुमाएका ६ नागरिकको मृत शरीर अनि सुत्केरी आमाको मृत्युु पश्चात असहज स्थिति सामना गरिरहेको नवजात शिशुलाई हेरेर आजको मितिमा राज्यको कर्तव्य पहिचान र आत्मसात गर्न समेत नेपाली कांग्रेस प्रधानमन्त्री एवं नेपाल सरकारलाई अपील र आग्रह गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

Published : Friday, 2021 May 28, 7:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया