भेरीमा उत्पात मच्चाउने एमालेका ‘लडाकु’लाई कारबाही गर्न तरुण दलको माग

काठमाडौं । नेपाल तरुण दलले भेरी अस्पतालमा डाक्टर र नर्सहरूमाथि सत्तारुढ दल एमालेका नेता कार्यकर्ताहरूबाट भएको घटनाको भर्त्सना गर्दै दोषीलाई कारबाहीको माग गरेको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले शुक्रबार विज्ञप्ति जारी गरेर भेरी अस्पतालमा एमालेका नेताहरूले मच्चाएको वितण्डाको निन्दा गरेका छन् ।

बस्नेतले भनेका छन्, ‘विषम परिस्थितिमा समाजको अग्रपंक्तिमा रहि जोखिमपूर्ण अवस्थामा पनि अनवरत रुपमा सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी र अत्यावश्यक सेवा आपूर्तिकर्ताप्रति नेपाल तरुण दल केन्द्रीय समितिउच्च सम्मान प्रकट गर्दछ ।’

उनले बाँके जिल्लाको नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत डाक्टर र नर्सहरूमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य भएको जनाएका छन् ।

‘महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरू बिरामीको उपचारमा दिनरात नभनी हरपल खटिरहेका छन्’, उनले भने, ‘समाजको अग्रपंक्तिमा उभिएर सेवाप्रदान गर्ने पेशा समुदायप्रति हुँदै आएको दुर्व्यवहार, अपहेलाना र आक्रमणप्रति नेपाल तरुण दल केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानबिन गरी आक्रमणमा संलग्न जोसुकै होस कारबाहिको दायरामा ल्याउन र अग्रपंक्तिमा रहेका सेवाकर्मीको मनोबल वृद्धि हुने कार्य अघि बढाउनका निम्ति सरकार समक्ष नेपाल तरुण दल केन्द्रीय समिति जोडदार माग गर्दछ’, अध्यक्ष बस्नेतले भनेका छन् ।

एमालेका लुम्बिनी प्रदेशका सदस्य मानबहादुर रावतसहितका व्यक्तिले अस्पतालमा डाक्टर र नर्सहरूलाई कुटपिट भएको थियो ।

Published : Friday, 2021 May 28, 5:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया