ओली–भण्डारी डराएर तयारीविनै निषेधाज्ञा कडा बनाए, तरुणहरूले छाड्दैनौँः उत्तम चापगाइँ

काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता उत्तम चापागाइँले विपक्षी दलहरूको आन्दोलनबाट डराएर हठातमा कोरोना महामारीको नाममा जनतालाई सास्ती दिन थालेको आरोप लगाएका छन् ।

रिपब्लिका दैनिकसँग शुक्रबार बिहान कुरा गर्दै उपाध्यक्ष चापागाइँले निषेधाज्ञालाई कडा बनाउँदा सरकारले पालना गर्नुपर्ने सामान्य नियमहरू कार्यान्वयनमा नल्याएको बताए । जनतालाई राहत कार्यक्रम ल्याएर मात्रै निषेधाज्ञा कडा बनाउनुपर्ने उनको भनाइ छ । भोको पेट जनता घरभित्र कसरी बस्न सक्छ भनेर ओली सरकारसँग चापागाइँले प्रश्न गरेका छन् ।

उनले पेशा,व्यवसाय गर्नेहरूलाई पनि राहत कार्यक्रम ल्याएर सहुलीयत दिनुपर्ने माग गरेका छन् ।

‘निषेधाज्ञामा कडाइ गर्दा सरकारले जनतालाई के–के सहुलीयत दिनुपर्छ ? थाहा हुनुपर्छ’, उनले भने, ‘सबै जनता किनेर खान सक्ने छैनन् । बिहान–बेलुकाको छाकटार्न मजदुरी गरेर खाने वर्ग ठूलो छ । अति निम्न वर्गा पनि धेरै छ । एक महिनादेखि निषेधाज्ञाका कारण त्यो वर्ग घरभित्र थुनिएर बसेको छ ।’

निषेधाज्ञामा कडाइ गर्दै गर्दा सरकारले राहतको कार्यक्रम दिनुपर्ने उपाध्यक्ष चापागाइँले बताएका छन् । ‘सरकारमा बसेका शासकहरूलाई आफ्नो कुर्सी बचाउन मात्रै ध्यान छ’, उने भने, ‘जनता खान नपाएर भोकै मर्ने अवस्थामा पुगेका छन् । उनीहरूलाई राहत ल्याएको छैन । तरुण दल र नेपाली कांग्रेसले पटक–पटक राहतको कार्यक्रम ल्याउन भन्दा सरकारले सुनेको छैन ।’

असंवैधानिक कदममार्फत प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई विपक्षी दलहरूले विरोध गर्छन् कि भन्ने ठूलो डर रहेकाले तयारीविनै निषेधाज्ञालाई कडा बनाएको बताए ।

तरुण दलका उपाध्यक्ष चापागाइँले स्वास्थ्य मापदण्डहरू अपनाएर समस्यामा परेका सर्वसाधारणलाई सक्दो सहयोग गर्न देशभरिका तरुणहरूसँग अनुरोध गरेका छन् । ‘सरकार निकम्मा भयो । भोका जनताको दुःख पीडालाई ध्यान दिन सकेको छैन । कुर्सी बचाउन मात्रै केन्द्रित छ’, उनले भने, ‘हामी तरुणहरूले सक्दो सहयोग गर्नुपर्छ । भोका जनताको पेट कसरी भर्ने भनेर ध्यान दिनुपर्छ ।’

तरुण उपाध्यक्ष चापागाइँले ओली–भण्डारीको असंवैधानिक हर्कतको विरोध गर्दै तरुणहरूलाई स्वास्थ्य मापदण्ड अपनाएर विरोधमा उत्रिन आग्रह गरेका छन् । ‘ठूलो संख्यामा होइन, थोरैको संख्यामा भए पनि स्वास्थ्य मापदण्ड अपनाएर विरोध गर्नुपर्छ । संविधान उल्लंघन भएको छ । देशलाई ओली–भण्डारीले राजा ज्ञानेन्द्र शाहको शासनकालमा पु¥याएका छन्’, उनले भने, ‘लोकतन्त्रवादीहरू चुप लागेर बस्नु हुँदैन ।’

उनले कोरोना महामारीका बेला निर्वाचन घोषणा गरेर ओली–भण्डारीले अधिनायकवादलाई संस्थागत गर्न लागेको बताए । उनले कांग्रेस निर्वाचनका पक्षमा रहे पनि अहिले निर्वाचनभन्दा पनि जनतालाई खोप दिएर जीवन बचाउनुपर्ने बताए ।

Published : Friday, 2021 May 28, 11:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया