ओली–भण्डारीको अधिनायकवाद फाल्ने बेला भयो, आन्दोलनको नेतृत्व देउवाले लिनुपर्छ: तिमिल्सिना

काठमाडौं । नेपाली कांग्रेस संगठन विभागका केन्द्रीय सदस्य एवम् युवा नेता जन्मजय तिमिल्सिनाले प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको अधिनायकवादी सर्वसत्तावाद अन्त्यको नेतृत्वको सभापति शेरबहादुर देउवाले शुरु गरेको बताएका छन् ।

रिपब्लिका दैनिकसँगको अन्तर्वार्तामा कांग्रेस नेता तिमिल्सिनाले मुलुकमा भएका ठूला–ठूला परिवर्तनको नेतृत्वको कांग्रेसले गरेको भन्दै ओली–भण्डारीको अधिनायकवादको अन्त्य पनि सभापति देउवाको नेतृत्वमा हुने घोषणा गरेका हुन् ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले संविधानलाई मिचेर पटक–पटक प्रतिनिधि सभा विघटन गर्ने कार्य गरेपछि ओली–भण्डारीको अधिनायकवाद अन्त्यका लागि कांग्रेसले नेतृत्व गरेर आन्दोलन गर्नुपर्ने दवाव बढेको छ ।

‘०७८ सालको आन्दोलनको अगुवाई गर्ने जिम्मेवारी कांग्रेस सभापति शेरबहादुर देउवाको काँधमा आएको छ । हामी लोकतन्त्रवादीहरू एक ठाउँमा उभिन जरुरी छ’, तिमिल्सिनाले भने, ‘सबैको साथ लिएर हामीले सर्वसत्तावादको विरुद्धमा हामी उभिनुपर्छ ।’

ओली–भण्डारीको अधिनायकवादलाई परास्त गर्न कांग्रेस नेता तिमिल्सिनाले सम्पूर्ण तरुण, युवा, विद्यार्थी, लोकतन्त्रवादी र बुद्धिजीवीहरू एकठाउँमा आउनुपर्ने बताएका छन् ।

‘निरंकुश राणा र पञ्चायतलाई सिध्याउन कांग्रेसले नै अगुवाई गर्‍यो । देशलाई निकास पनि दियो’, उनले ओली–भण्डारीलाई चेतावनी दिँदै भने, ‘०६२/६३ को दोस्रो जनआन्दोलन कांग्रेसले अगुवाई गर्‍यो । तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले नेतृत्व गर्नुभयो ।’

‘निरंकुशता र सर्वसत्तावाद ल्याउन ओली–भण्डारीले नेपालको संविधानलाई मिच्ने काम भएको छ’, उनले भने, ‘जनताको बलिदानी, खुन, पसिनाले कांग्रेसले ०७ सालदेखि संविधान सभाको मुद्धा उठाएको थियो । नेपाली कांग्रेसले बोकेको मुद्धा संविधान सभाबाट नयाँ संविधान बनेको छ ।’

‘अहिले देशको अगुवाई कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नुभएको छ । यो कुनै अफवाह होइन’, उनले भने, ‘सभापतिज्यूले जनताको बीचमा यो अत्यन्तै राम्रो काम गर्नुभएको छ ।’

‘पञ्चायत ढलेको कारण तानाशाह प्रवृत्ति हो । गरिवहरूलाई दवाव, जमिन्दारी प्रथालगायताका कारणले राणा र पञ्चायतको अन्त्य भयो’, उनले भने, ‘राणा र पञ्चायत फाल्ने काम पनि नेपाली कांग्रेसका नेताहरूले गरेका थिए ।’

‘फेरि मओवादीको ठूलो विद्रोह जन्मियो’, उनले भने, ‘माओवादी द्वन्द्व भयो । माओवादी द्वन्द्वलाई पनि कांग्रेसले सहि ठाउँमा अवतरण गराइदिएको छ । त्यसको नेतृत्व पनि गिरिजाप्रसाद कोइरालाले गर्नुभएको थियो ।’

‘राजाको तानाशाह प्रवृत्तिले दुई सय ४० वर्षको राजसंस्था ढल्यो’, उनले भने, ‘त्यसको अगुवाई गिरिजाप्रसाद कोइरालाले नै गर्नुभएको थियो ।’

०६२/६३ को जनआन्दोलनभन्दा अगाडि माओवादीले १७ हजार मान्छे मारेको बताएका कांग्रेस नेता तिमिल्सिनाले भने, ‘माओवादी र संसदवादी दलहरूबीच १२ बुँदे सम्झौता भयो । त्यस बेला उनीहरू उत्तरी र दक्षिणी ध्रुब जस्ता थिए । मिल्न नसक्ने अवस्थामा थिए ।’

उनले भने, ‘संसदीय प्रणाली नचाहने माओवादीलाई कांग्रेसले १२ बुँदे शान्ति सम्झौतामार्फत गिरिजाप्रसाद कोइरालाको अगुवाईमा नेपालमा शान्ति र संघीय लोकतान्त्रिक गणतन्त्र ल्याइयो ।’

‘किन भने राजाले जनताका अधिकार खोसेपछि राजसंस्था हटाउने काम भयो’, उनले भने, ‘राजाले निरंकुशता, विकृति र विसंगती फैलाए । त्यसको दण्ड कांग्रेसले दियो ।’

उनले भने, ‘सबै दास, म मात्रै राजा हुँ भन्ने खालको सोँच राजामा पलायो । सर्वसत्तावादको भुत चढ्यो । त्यस कारण राजसंस्था गयो’, कांग्रेसका युवा नेता तिमिल्सिनाले भनेका छन् ।

‘मुलुकमा अहिले पनि राष्ट्रपति र प्रधानमन्त्रीको निरंकुशता छ, सर्वसत्तावाद छ, त्यो सोँचको कारणले गर्दा करीव दुईतिहाइको सरकार विफल भएको छ’, उनले भने, ‘जनताले विश्वास गरेर वामपन्थीलाई बहुमत दिए । दुईतिहाइको सरकार ५ वर्षसम्म चलाउन कसैको अनुमतिको आवश्यक्ता नै थिएन । व्यक्तिगत स्वार्थमा आफै झगडा गरेर मुलुकलाई राजनीतिक अस्थिरतामा लगे, पार्टी फुटाए, राज्यमा लुट, आतंक, भ्रष्टाचार, अराजकता मच्चाएका छन् ।’

उनले भने, ‘सरकार राम्रोसँग चलाएर मुलुकलाई समृद्धि र विकसित नेपालतिर उन्मुख गराउने ठाउँमा उल्टै ओली–भण्डारीले मुलुकलाई ध्वस्त बनाएका छन् । जनताको अधिकार खोसेर राजा ज्ञानेन्द्र शाहको पालमा पु¥याएका छन् ।’

युवा नेता तिमिल्सिनाले जनता कोरोनाको मारमा रहेको भन्दै महामारीका बेला कसरी चुनाव हुन सक्छ ? भनेर प्रश्न उठाएका छन् । ‘कांग्रेस चुनावबाट भाग्दैन, डराउँदैन । लोकतान्त्रिक प्रक्रियालाई सधैँ स्वागत गर्छ । जितहार लोकतन्त्रको सुन्दर पक्ष हो’, उनले भने, ‘अहिले जनताको जीवन रक्षा सबैभन्दा ठूलो कुरा हो । निर्वाचन होइन । महामारीबाट जनतालाई बचाएर निर्वाचनमा जाऔँ ।’

‘जनताले भ्याक्सिन पाएका छैनन्, सिटामोल पाएका छैनन्, बेड र अक्सिजन पाएका छैनन् । पीसीआर टेष्ट हुन सकेको छैन’, युवा नेता तिमिल्सिनाले भने, ‘अक्सिजन नपाएर मानिसहरू मरिरहेका छन् । यस्तो भयावहको अवस्थामा निर्वाचन घोषणा गरेको छ । जनताप्रति ओली–भण्डारी कत्तिपनि जिम्मेवार देखिएनन् ।’

प्रतिनिधि सभा विघटन गर्ने ओली–भण्डारीको निर्णयलाई संविधान विपरितको भएको भन्दै तिमिल्सिनाले संविधानअनुसार सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्न दवाव सिर्जना गर्नुपर्ने बताएका छन् । सर्वोच्च अदालतप्रति कांग्रेसको ठूलो भरोसा रहेको भन्दै उनले रिटमा माग गरिएअनुसार आदेश हुनेमा आफू आशावादी रहेको बताए ।

‘हामीलाई न्यायपालिकाप्रति पूर्ण भरोसा छ । नेपाली कांग्रेसले लोकतन्त्र, विधिमा भरोसा मान्ने पार्टी हो’, उनले भने, ‘न्यायपालिकाले पूर्ण रुपमा न्याय गर्छ । जनताको हितमा निर्णय गर्नेछ भन्ने विश्वास नेपाली कांग्रेसलाई छ ।’

ओली–भण्डारीले पहिलो पटक प्रतिनिधि सभा विघटन गर्दा सभापति देउवाले सर्वोच्च अदालतले न्याय गर्ने भन्दै न्यायालयको आलोचना नगर्न अनुरोध गर्दै आएका थिए । अहिले पनि देउवाले न्यायालयप्रति कांग्रेसको ठूलो आस्था रहेको र संविधानअनुसार रिटमा फैसला हुने आशा लिएको बताउने गरेका छन् ।

Published : Thursday, 2021 May 27, 8:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया