पत्रकार महासंघका अध्यक्ष सवार जीप दुर्घटना, सबैको अवस्था सामान्य

घोराही । दाङको तुलसीपुरमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलसहितका पत्रकारहरू सवार जीप दुर्घटना भएको छ ।

बुधबार करीव साढे ४ बजेतिर जीप तुलसीपुर उप–महानगरपालिकाको तुलसीपुर चोक नजिकै दुर्घटना भएको पत्रकार सुलोचना गौतम पोखरेलले जानकारी दिएकी छिन् ।

अध्यक्ष पोखरेलसहितका पत्रकारहरू सवार जीपलाई अर्को जीपले गलत दिशाबाट आएर दुर्घटना गराएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रदेश ३–०१, ०२२ च ९२२६ नम्बरको जीपमा दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी, शाखा उपाध्यक्ष सन्तोष सुवेदी र सल्लाहकार सुदीप गौतम सवार थिए ।

जीपलाई तुलसीपुरको उद्योग वाणिज्य संघनजिकै रा १ च ९५५ को स्कोर्पियोले ठक्कर दिएको थियो ।

दुर्घटनामा परी सल्लाहकार गौतमको टाउकोमा सामान्य चोट लागेको छ । अध्यक्ष पोखरेलसहित केसी र सुवेदीको स्वास्थ्य अवस्था सामान्य रहेको पत्रकार गौतमले जानकारी दिएकी छिन् ।

दुर्घटनामा परेका सबै पत्रकारहरूको तुलसीपुरस्थित सिटी अस्पतालमा उपचार भएको छ । अस्पतालमा सामान्य उपचारपछि अध्यक्ष पोखरेलसहित केसी र सुवेदी घोराही फर्किएका छन् । सल्लाहकार गौतमलाई टाँका लगाइएको छ ।

स्कोर्पियोको ठक्करबाट जीपमा क्षति पुगेको छ ।

Published : Wednesday, 2021 May 26, 8:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया