कांग्रेस सह–महामन्त्री डा.महतद्वारा खरानीटार अस्पतालाई बेडहरू प्रदान

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले गृहजिल्ला नुवाकोटको खरानीटार अस्पताललाई ६ थान बेड उपलब्ध गराएका छन् ।

डा.महतले काठमाडौंको बाँसबारीस्थित निवासमा अस्पताल सञ्चालक समितिका अध्यक्ष एवम तादी गाउँपालिकाका अध्यक्ष नारायण पाण्डेलाई बेडहरू हस्तान्तरण गरेका हुन् ।

तादी गाउँपालिकामा रहेको खरानीटार अस्पतालमा कोरोनाभाइरसका संक्रमितहरूलाई उपचार गर्न सजिलो होस् भनेर ६ थान वेड अस्पतालका सञ्चालक समितिका अध्यक्ष पाण्डेलाई हस्तान्तरण गरेको निजी सचिवालयले जनाएको छ ।

अस्पतालका लागि बेडहरू हस्तान्तरण गरेपछि पत्रकारहरूसँग कुरा गर्दै सह–महामन्त्री डा.महतले अस्पताललाई आफूले गरेको सहयोग धेरै ठूलो नभए पनि जनताका लागि सबैले यसै गरि सहयोग गर्ने हो भने धेरैको उपचार गर्न सकिने बताए ।

‘यो धेरै ठूलो सहयोग होइन । तर, महामारीका बेला जनताको उपचारमा थोरै भए पनि सहयोग मिल्छ’, डा.महतले भने, ‘हामी सबैले मिलेर कोरोनाको सामना गर्नुपर्छ ।’

देश महामारीको चपेटामा परेको समयमा सरकार सत्ता केन्द्रित बनेको नमिठो यथार्थ सबैले देखेको विषय रहेको भन्दै उनले सानो मात्रामा भए पनि यी सामग्रीले स्थानीय बिरामीहरूका लागि सहयोग पुग्ने अपेक्षा गरेको बताए ।

उनले महामारीले देश र जनता आक्रान्त बनेको यस अवस्थामा सरकारले जनताको जीवन बचाउनका लागि प्रभावकारी रुपमा काम गर्न नसकेको कुरा सबैमा जगजाहेर रहेको बताए । उनले महामारीका बेलामा कांग्रेसले देशभरि आफ्ना संयन्त्रहरू परिचालन गरी उपचारका लागि सहजीकरण गरेको बताए ।

बेड हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर १ प्रदेश ‘ख’का सभापति अर्जुनप्रसाद न्यौपाने, कांग्रेस नेतृ वीना महत र नेपाली कांग्रेस नुवाकोटका नेता प्रल्हाद पन्तको उपस्थित रहेको थियो ।

यसअघि, डा.महतले नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ५ को तर्फबाट महेन्द्रनारायण निधि अस्पताललाई अक्सिजन कन्सन्टेटर हस्तान्तरण गरेका थिए ।

Published : Wednesday, 2021 May 26, 5:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया