स्रोत जुटाएर मल्लले भित्र्याए जलजलामा २० लाख बराबरको स्वास्थ्य सामग्री

लामाखेत । पर्वत जिल्लाको जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता यामबहादुर मल्ल ‘रामकृष्ण’ले आफ्नो गाउँपालिकाका लागि २० लाख बराबरको स्रोत जुटाएर स्वास्थ्य सामग्रीहरू ल्याएका छन् ।

अध्यक्ष मल्लले काठमाडौंमा स्रोत जुटाएर स्वास्थ्य सामग्री संकलन गरेर गाउँपालिकामा ल्याएका हुन् । अध्यक्ष मल्लले स्वास्थ्य सामग्री उपलब्ध गराउन सहयोग गर्ने सबैलाई धन्यावाद दिएका छन् ।

अध्यक्ष मल्लको विशेष अनुरोधमा नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीमार्फत स्वास्थ्य सामग्री ल्याएको गाउँपालिकाले जनाएको छ ।

अक्सिजन सिलिण्डर, अक्सिजन कनसन्ट्रेटर, बेड सिट, पीपीई, मास्क, सेनीटाइजर, भीटीएम, एन्टीजेन किटलगायत गरी २० लाख बराबरको स्वास्थ्य सामग्री गाउँपालिकामा भित्रिएका छन् ।

जलजला गाउँपालिकामा कोरोनाभाइरसका संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य सामग्री र अन्य सहयोगहरू जुटाउन अध्यक्ष मल्ल काठमाडौं गएका थिए ।

उनले मुख्यसचिव बैरागीसहित विभिन्न व्यक्ति र संस्थाहरूसँग अनुरोध गरेर स्वास्थ्य सामग्री ल्याएका हुन् ।

पहिलो लहरको कोरोना महामारीबाट जनताको जीवन रक्षा गर्न अध्यक्ष मल्लले जलजला गाउँपालिकाको बिपत् कोषमा व्यक्तिगत रुपमा दुई लाख जम्मा गरेका थिए ।

कोरोनाको दोस्रो लहर शुरु भएपछि मल्लले कोषमा थप एक लाख जम्मा गरेका छन् ।

एक वर्ष अगाडि कोरोना महामारीका बेला मल्लले स्वास्थ्य सामग्रीदेखि खाद्यान्न लगायत विभिन्न सहयोगहरू गरेका थिए । समस्यामा परेका अति विपन्न, मजदुरलगायतलाई उनले बेलाबेला सहयोग गर्दै आएका छन् ।

नेपाली कांग्रेस पर्वतका कोषाध्यक्ष समेत रहेका मल्लले जिल्लाका सात वटै नगरपालिका र गाउँपालिकामा स्वास्थ्य सामग्री र खाद्यान्न वितरण गरेका थिए ।

उनले छिमेकी जिल्ला बागलुङ र म्याग्दीमा समेत सहयोग गरेका छन् ।

कांग्रेसका युवा नेता मल्लले आफ्नो व्यक्तिगत खर्चमा झण्डै १० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग प्रदान गरेका थिए ।

जलजला गाउँपालिकाले निर्माण गरेको कोरोना अस्थायी अस्पतालमा अध्यक्ष मल्लले व्यक्तिगत तर्फबाट पाँच वटा अक्सिजन सिलिन्डर प्रदान गरेका छन् ।

कोरोना महामारीसँग डराएर बिभिन्न ठाउँमा समस्यामा परेका बिरामीलाई मल्लले अस्पतालसम्म पु¥याउने व्यवस्था गरिदिँदै आएका छन् ।

शवको ब्यवस्थापन हुन नसक्ने भइरहेको समयमा पनि मल्ल आफै अग्रमोर्चामा खटेर उद्धारमा जुट्दै सहयोग गर्ने गरेका छन् ।

कोरोना महामारीका बेला स्वास्थ्य सामग्रीहरू देशभरि अभाव भइरहेका बेला कांग्रेसका युवा नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष मल्लले आफ्ना जनताको उपचारका लागि सबैसँग अनुरोध गरेर स्वास्थ्य सामग्रीहरू जलजलामा भित्र्याएका हुन् ।

उनले कोरोना महामारी र निषेधाज्ञाका कारण समस्यामा परेका अति विपन्न र मजदुरहरूलाई पनि खाद्यान्न सहयोग गर्ने गरेका छन् ।

Published : Tuesday, 2021 May 25, 10:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया