प्रधानमन्त्रीसँग प्रधानन्यायाधीशको भेट भएको छैनः सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री खड्गप्रसाद ओली र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाबीच भेटवार्ता नभएको जनाएको छ ।

सर्वोच्चका सह–प्रवक्ता देवेन्द्र ढकालले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर मंगलबार राति प्रधानमन्त्री निवास बालुवाटारमा ओली र राणाबीच भेट नभएको जनाएका छन् । उनले केही अनलाइनहरूमा ओली र राणाबीच भेट भएको भनेर आएका समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘उल्लेखित विषयमा कुनै सत्यता नरहेको र न्यायपालिकाको स्वच्छता एवम् यसप्रतिको आस्था र विश्सामा प्रतिकूल प्रभाव पर्ने गरि अतिरञ्जित तथा दुरासययुक्त भावनाबाट समाचार प्रकाशन हुनु अत्यन्त दुखद् र खेदजन्य विषय हो’, विज्ञप्तिमा भनिएको छ, ‘अदालतमा दर्ता हुन आएका कुनै विवादसँग जोडेर न्यायसम्पादनको कार्यलाई प्रतिकूल प्रभाव पर्ने कुत्सित मनसाय राखी सत्य तथ्य र यथार्य अवस्था बुझ्दै नबुझी समाचार प्रकाशन हुनु दुखद् अवस्था हो ।’

‘यस प्रकारका कार्यहरू संविधान, कानून र स्वयम् पत्रकार आचारसंहिताको समेत प्रतिकूल हुने हुँदा कानूनी दायरामा आउन सक्नेतर्फ सचेत हुन ध्यानाकर्षण गराउँदछौँ’, चेतावनी शैलीमा विज्ञप्तिमा भनिएको छ, ‘यस्ता भ्रमपूर्ण कपोलकल्पित समाचारको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछौं ।’

सोमबार राति ओली र राणाबीच बालुवाटारमा भेटवार्ता भएको समाचार आएपछि प्रधानन्यायाधीश राणाले सो समाचारको खण्डन गरेका छन् ।

Published : Tuesday, 2021 May 25, 4:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया