ओली–भण्डारीको अवैधानिक कामलाई कांग्रेसले बैधानिकता दिँदैनः तिमिल्सिना

काठमाडौं । नेपाली कांग्रेस संगठन विभागका केन्द्रीय सदस्य एवम् युवा नेता जन्मजय तिमिल्सिनाले सर्वोच्च अदालतले प्रतिनिधि सभालाई पुनःस्थापना गर्नेमा आफूलाई विश्वास रहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत कांग्रेस नेता तिमिल्सिनाले कांग्रेससहितका दलका सांसदहरूद्वारा सर्वोच्च अदालतमा दर्ता गराइएको रिट निवेदनमा माग गरिएअनुसारको आदेश आउने बताए ।

उनले भने, ‘प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदमविरुद्ध १४६ जना सांसदले सर्वोच्च अदालतमा न्यायका लागि विश्वास गरेर निवेदन दिएका छन् । सर्वोच्च अदालतले संविधानलाई टेकेर संसद पुनःस्थापना गर्नेमा विश्वास छ ।’

कांग्रेस नेता तिमिल्सिनाले ओली–भण्डारीले घोषणा गरेको निर्वाचन तोकिएको समयमा हुन नसक्ने बताए । ‘कोरोनाको दोस्रो लहरको संक्रमण फैलिएको छ । यस्तो अवस्थामा निर्वाचन हुन सक्दैन । निर्वाचनभन्दा पहिला सबै जनतालाई कोरोनाविरुद्धको खोप दिनुपर्छ । त्यसपछि मात्रै निर्वाचनमा जानुपर्छ’, उनले भनेका छन् ।

कांग्रेसले कहिल्यै पनि निर्वाचनलाई विरोध नगरेको उनले बताएका छन् । ‘कांग्रेस निर्वाचन विरोधी होइन । हामी निर्वाचनका लागि तयारी अवस्थामा छौँ’, उनले भने, ‘संविधान मिचेर गरिएका राष्ट्रपति र प्रधानमन्त्रीको कदम पहिला सच्चिनुपर्छ । कीर्ते काण्ड फिर्ता लिनुपर्छ ।’

कांग्रेस नेता तिमिल्सिनाले महामारीमा सबैभन्दा ठूलो जनताको जीवन रक्षा रहेको भन्दै जनतालाई खोप लगाइदिएर निर्वाचनमा जानुपर्ने पक्षमा रहेको बताए । ओली र भण्डारीको कदमलाई बैधानिकता दिने पक्षमा कांग्रेस नरहेको उनले बताए । उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति र संसद पुनःस्थापना आफूहरूको माग रहेको भन्दै त्योभन्दा दायाँ बायाँ नगर्ने बताए ।

ओलीले चुनाव गर्नेभन्दा पनि सत्तामा टिकिरहन संसद विघटन गरेर निर्वाचन घोषणा गरेको तिमिल्सिनाले आरोप लगाए । ओलीलाई असफल र अधिनायकवादी शासक रहेको उनले बताए ।

Published : Tuesday, 2021 May 25, 2:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया