ओली–भण्डारीविरुद्ध आन्दोलन चर्काउन तरुण दलको निर्देशन

काठमाडौं । नेपाल तरुण दलले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदमविरुद्ध संघर्ष गर्न निर्देशन दिएको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले मंगलबार जिल्ला अध्यक्षहरूलाई परिपत्र गर्दै स्वास्थ्य मापदण्डहरू अपनाएर ओली–भण्डारीविरुद्ध आन्दोलन गर्न निर्देशन दिएका छन् ।

‘नेपाल तरुण दलको त्यस जिल्ला समितिसँग उल्लेखित सहकार्य गर्ने युवा संगठनहरूसँग चुनावको नाटक गर्ने प्रधानमन्त्री र त्यसलाई सघाउने राष्ट्रपतिको राष्ट्रघाती कदमका विरुद्धमा समन्वय गरी संयुक्त संघर्षको कार्यक्रम (कोरोना भाईरस कोभिड–१९ लाई ध्यानमा राखी स्वास्थ्य मापदण्ड पालना गर्दै ) गर्न यो परिपत्र गरिएको छ’, परिपत्रमा उल्लेख छ ।

‘प्रतिनिधिसभाको विघटन असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, स्वयच्छाचारी र प्रतिगामी भएको नेपाल तरुण दल केन्द्रीय समितिको ठहर छ’, उनले भनेका छन् ।

अध्यक्ष बस्नेतले भने, ‘उक्त कदम ईतिहासमै जनता र जनप्रतिनिधि जनप्रतिनिधिहरूको साझा थलो संसदमाथि गरिएको सबैभन्दा ठूलो धोका र गद्दारीपूर्ण कार्य हो उक्त कदमको नेपाल दल घोर निन्दा र भर्त्सना गर्दछ ।’

‘कोरोना महामारीले देश र जनता आक्रान्त भएको संकटपूर्ण यश अवस्थामा जनतालाई सहज उपचारको व्यवस्था मिलाउने कार्यलाइ बेवास्ता गर्दै मध्यावधि निर्वाचनको घोषणा गर्नु देश र जनताप्रतिको गैरजिम्मेवारीको पराकाष्ठा हो भने जनताको स्वास्थ्यमाथिको गम्भीर खेलवाड अक्षम्य अपराध हो’, तरुण दलको परिपत्रमा भनिएको छ ।

प्रधानमन्त्रीबाट गरिएको प्रतिगमनकारी कदमको विरुद्धमा नेपाल तरुण दल संग सहकार्य गर्ने अन्य राजनीतिक दलका युवा संगठनहरू योङ कम्युनिष्ट नेपाल, समाजवादी युवा संघ–नेपाल, युवा संघ नेपाल, अखिल नेपाल युवक संघ, विवेकशील साझा युवा संगठनसँग समन्वय र छलफल अघि बढिसकेको अध्यक्ष बस्नेतले बताएका छन् ।

Published : Tuesday, 2021 May 25, 8:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया