एमाले गुटको मात्रै राष्ट्रपति बन्नुभयो भण्डारीजी, सुध्रिनुस्ः कांग्रेस सह–महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री एवम् पूर्वमन्त्री सुनिलबहादुर थापाले सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्नेमा एमालेको एउटा गुटको गोटी बनेर राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संविधानमाथि प्रहार भएको टिप्पणी गरेका छन् ।

काठमाडौंमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै सह–महामन्त्री थापाले कांग्रेससहितका विपक्षी गठबन्ध र प्रधानमन्त्री खड्गप्रसाद ओलीद्वारा बुझाइएका सांसदहरूको हस्ताक्षरको सनाखत नगरेर प्रतिनिधि सभा विघटन गरेको भन्दै आक्रोश पोखे । उनले कांग्रेस सभापति देउवाद्वारा प्रधानमन्त्रीका लागि पेश गरिएको दाबी बलियो रहेको बताए ।

‘सभापति शेरबहादुर देउवालाई नेपालको संविधान अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न सकिने अवस्था विद्यमान रहेकै अवस्थामा विधि र पद्धति मिचेर सांसदहरूका हस्ताक्षरको सनाखत नै गरिएन’, उनले भनेका छन् ।

‘सांसदहरू कारवाहीमा पर्ने र प्रधानमन्त्रीको दावी गर्ने कुनै पनि उम्मेदवारले संसदबाट विश्वासको मत पाउन नसक्ने भन्ने काल्पनिक अनुमानका आधारमा कामचलाउ प्रधानमन्त्री खड्गप्रसाद ओलीको सिफारिसमा संविधान छलेर संविधान बाहिर उभिएर मध्यरातमा प्रतिनिधिसभा बिघटन गर्ने काम भएको छ, यो संविधान र लोकतन्त्र विरोध कार्य हो’, थापाले भनेका छन् ।

‘भण्डारी र ओलीको यो कार्यबाट नेपालको संविधान २०७२ को पूर्ण उल्लंघन, मानमर्दन भएको छ’, सह–महामन्त्री थापाले भने, ‘संविधानको संरक्षण एवम् पालनाको संवैधानिक दायित्व बहन गरेको राष्ट्रपतिबाट संविधानमाथि आक्रमण हुनु दुर्भाग्यपूर्ण हो ।’

‘राष्ट्रपति र कामचलाउ प्रधानमन्त्रीबाट संविधानको आत्मा मारेर, संसदीय मूल्य र मान्यता तथा लोकतन्त्रको आदर्श र परम्परा विपरित भएका कार्यको निन्दा र भर्त्सना जति गरे पनि कम हुन्छ’, उनले भनेका छन् ।

‘राष्ट्रपतिको यस कदमले संघीय लोकतान्त्रिक गणतन्त्रको अस्तित्व र उपादेयतामाथि घोर संकट उत्पन्न गरेको छ’, थापाले भनेका छन् ।

कांग्रेसका सह–महामन्त्री थापाले कोरोनाको महामारीबाट विश्वको सिंगो मानव समुदाय नै आतंकित रहेको अवस्थामा चुनावको परिकल्पना नै गर्न नसकिने बताएका छन् ।

‘राष्ट्रपति र कामचलाउ प्रधानमन्त्रीबाट लोकतन्त्रको भाग्य र भविष्यलाई अन्ततः कालो सुरुङतर्फ धकेलिएको छ’, उनले भने, ‘राष्ट्रपतिबाट मध्यरातमा चालिएको कालरात्रि कदमको संगठित प्रतिकारको लागि नेपाली कांग्रेस फेरि एक पटक लोकतन्त्रको लडाइँमा होमिएको छ ।’
उनले ओली–भण्डारीको हर्कतविरुद्ध एकआर्कामा हातेमालोका साथ अघि बढ्न अनुरोध गरेका छन् ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको मिलोमतोमा शुक्रबार मध्यराति संसद विघटन गरेर चुनावको घोषणा गरेपछि कांग्रेसले विरोध गरेको छ ।

कांग्रेसका सभापति देउवाले विधि र प्रक्रिया पुर्‍याएर प्रधानमन्त्रीमा दाबी गरेका थिए । भण्डारीले देउवालाई प्रधानमन्त्री बनाउनुको साटो संसद नै विघटन गरेर ओलीलाई नै सरकार चलाउने जिम्मेवारी दिएकी छिन् ।

Published : Saturday, 2021 May 22, 10:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया