नेविसंघद्वारा काठमाडौंसहित देशभरि प्रदर्शन, बालुवाटार–शीतलनिवास डरले थुरुरु

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर प्रतिनिधि सभा विघटन गरेको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौं उपत्यकासहित अधिकांश जिल्लाहरूमा विरोध प्रदर्शन गरेको छ ।

शनिबार नेविसंघले राष्ट्रपति कार्यालय शीतलनिवास, काठमाडौंको त्रि–चन्द्र क्याम्पस, सुर्खेत, पोखरा, जनकपुरधाम, स्याङजा, रौतहटलगायतका जिल्लाहरूमा ओली–भण्डारीको असंवैधानिक कदमको विरोधमा प्रदर्शन गरेको हो ।

नेविसंघका कार्यकर्ताले कुनै ठाउँमा मशाल जुलुस प्रदर्शन गरेका छन् । कुनै ठाउँमा ओली–भण्डारीको पुत्ला जलाएका छन् । केही गाउँमा ओली–भण्डारीको प्रतिगमतका विरुद्ध नारावाजी गरेका छन् ।

नेविसंघका अध्यक्ष राजीव ढुंगानाले निषेधाज्ञा र कोरोनाका बेला पनि स्वास्थ्य मापदण्डहरू अपनाएर नेविसंघले प्रदर्शन गरेको बताएका छन् ।

राष्ट्रपति कार्यालय अगाडि शुक्रबार नेविसंघका नेता दुजाङ शेर्पाको नेतृत्वमा ओली–भण्डारीको असंवैधानिक कदमका विरुद्ध प्रदर्शन भएको छ ।

पोखरामा भएको विरोध जुलुसमा नेविसंघका नेता सरोज केसी, भानु ढकाल, नेपाल दलित विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष गोविन्द नेपाली, नेविसंघ कास्कीका पूर्वअध्यक्ष विकास गुरुङ लगायतको सहभागिता रहेको थियो । नेविसंघका नेताहरूले राष्ट्रपति भण्डारीविरुद्ध नारावाजी समेत गरेका थिए ।

त्रि–चन्द्र क्याम्पस अगाडि भएको प्रदर्शनमा प्रहरीले नेविसंघका नेताद्वय सुन्दर बडाल र केशव जोशीलाई पक्राउ गरेको छ । पक्राउ परेका नेविसंघ नेताहरूलाई विनासर्त रिहाइ गर्न नेविसंघका अध्यक्ष ढुंगानाले माग गरेका छन् ।

ढुंगानाले शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेको भन्दै विरोध गरेका छन् । उनले पक्राउ परेका विद्यार्थी नेताहरूलाई तत्काल रिहा नगरे देशभरि आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

उता, सुर्खेतमा नेपाली कांग्रेस सुर्खेतले निषेधाज्ञामै कालोपट्टी बाँधेर विरोध जनाएको छ ।

वीरेन्द्रनगरको नेपाली कांग्रेस पार्टी कार्यालयन नजिकबाट सुरु भएको विरोध प्रदर्शन नेताचोकमा पुगेर सभामा परिणत भएको छ । टाउकामा कालो पट्टी बाँधेरका प्रदर्शनकारीले प्रधानमन्त्री ओलीको विरोध गर्दै संसद पुर्नस्थापना गर्नुपर्ने नारा लगाएका थिए ।

सभाम बोल्दै नेपाली कांग्रेसका नेता तप्तबहादुर विष्टले कोरोना महामारीका बेला मध्यावधि चुनावका लागि सरकारको तयारी महंगो सावित हुने बताए । उनले संविधानको सामूहिक बलात्कारको दुष्परिणाम महंगो पर्ने चेतावनी दिए ।

लोकतन्त्रको रक्षाका निम्ति नेपाली कांग्रेस जनताको साथमा रहेको भन्दै महामारीमा सत्ता र शक्तिको दुरुपयोग गरेको बेलामा सब एकजुट हुनुपर्ने बताए ।

Published : Saturday, 2021 May 22, 9:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया