उत्पात मच्चाउने भण्डारी–ओलीलाई घुँडा टेकाउने तरुण दलको घोषणा

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले मध्यरातमा प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको चीरहरुण गरेको बताएका छन् ।

अध्यक्ष बस्नेतले शनिबार विज्ञप्ति जारी गरेर भनेका छन्, ‘संविधानको अपव्याख्या गर्दै मध्यरातको अध्यारोमा संविधानको चीरहरण गर्ने गरी भएको नाङ्गो प्रहारको भर्त्सना गर्ने शब्द नै छैन ।’

लोकतान्त्रिक विधि र पद्धतिलाई खलल बनाउँदै संविधानको प्रकृया विपरीत मनोमानी तरिकाले असंवैधानिक ढंगबाट राष्ट्रपति भण्डारीद्वारा सिंगो नेपाली जनता र व्यवस्थामाथि नै घात गरेको बस्नेतले बताएका छन् ।

‘यो नेपालको लोकतान्त्रिक संविधानविरुद्धको एक अक्षम्य अपराध हो’, उनले भने, ‘देश, राष्ट्रियता र संविधानको अपव्याख्या गर्दै लोकतन्त्रको धज्जी उडाउने काममा संलग्न नायकहरू जनताको सामु घुँडा टेक्ने दिन धेरै टाढा छैन ।’

‘कोरोनाको कहरले आहत बनेको देश र जनताहरूको स्वास्थ्य उपचारमा राष्ट्रिय एकता कायम राख्दै हामी सबैको ध्यान यसको निराकरणमा दिनुको साट्टो पटक–पटकको संविधानमाथिको आक्रमण किमार्थ हाम्रो निम्ति स्वीकार्य विषय होइन’, उनले भनेका छन् ।

‘ओली र भण्डारीको यस कदमको विरुद्धमा एकजुट हुन नेपाल तरुण दल केन्द्रीय समिति सम्पूर्ण तरुणहरू र लोकतन्त्रप्रेमी सबैमा बिनम्रता पूर्वक अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

Published : Saturday, 2021 May 22, 6:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया