पोखरेलसँग रक्षा मन्त्रालय खोसेका ओलीले अर्को पावरफुल जिम्मेवारी पनि खोस्ने

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशक समितिको प्रमुखबाट उप–प्रधानमन्त्री ईश्वर पोखरेलको अधिकार खोस्ने भएका छन् ।

निर्देशक समितिको अध्यक्ष अब प्रधानमन्त्री ओली आफै हुनेछन् ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले ल्याएको ‘कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८’ मा निर्देशक समितिको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था राखिएको छ । यो नयाँ व्यवस्थाले पोखरेललाई झड्का लागेको छ ।

पोखेलले अब आफूभन्दा जुनियरहरूसँग बसेर निर्देशक समितिमा काम गर्नुपर्नेछ । पोखरेलले काम गर्न नसकेको भनेर बेला बेला आलोचना हुँदै आएको छ ।

शुक्रबार बालुवाटारमा ओलीले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरूले सीसीएमसीका संयोजक एवम् उप–प्रधानमन्त्री पोखरेलले काम गर्न नसकेको भनेर आलोचनासहित प्रश्न सोधेका थिए ।

यसअघि प्रधानमन्त्री ओलीले पोखरेलले सम्हाल्दै आएको रक्षा मन्त्रालय खोसेर आफैले राखेको छन् । पोखरेललाई उप–प्रधानमन्त्रीको मात्रै जिम्मेवारी ओलीले दिएका छन् । तैपनि पोखरेल कामबिहीन मानिने उप–प्रधानमन्त्रीमो झुण्डिएर बसेको भनेर एमालेभित्रै चर्चा हुने गरेको छ ।

निर्देशक समितिमा उप–प्रधानमन्त्री पोखरेल अन्य सदस्यहरू स्वास्थ्य तथा जनसंख्या, गृह, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्री निर्देशक समितिको सदस्यको हैसियतमा बस्नेछन् ।

संघीय सरकार, प्रदेश र स्थानीय तहको भूमिका निर्धारणको अधिकार पनि समितिलाई नै दिइएको छ ।

Published : Friday, 2021 May 21, 9:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया