राष्ट्रपतिलाई महाअभियोग लगाउन तरुण दलको माग, ओली–भण्डारीले गलत गरे

काठमाडौं । नेपाल तरुण दलले प्रधानमन्त्री खड्गप्रसाद ओलीले राजीनामा नदिएको अवस्थामा नयाँ सरकार गठनका लागि समय तोक्नु संविधान विपरित रहेको जनाएको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बिहीबार राति विज्ञप्ति जारी गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लंघन गरेर नयाँ सरकारका लागि आह्वान गरेको बताए । उनले संविधान उल्लंघन गर्ने राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाएर पद मुक्त गर्न माग गरेका छन् ।

‘संविधानको धारा ७६ को ३ अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत पनि नलिएको र राजीनामा समेत नदिएको अवस्थामा नयाँ सरकार गठनका लागि समय तोक्नु गलत छ’, अध्यक्ष बस्नेतले भनेका छन् ।

‘संविधानविरुद्ध राष्ट्रपतिद्वारा फेरि घात भएको छ । यो संविधानविरुद्धको अपराध हो’, उनले भने, ‘देश र जनता कोरोनाभाइरसको महामारीसँग लडिरहेका बेला राष्ट्रपतिबाट भएका यस्ता प्रकारका अव्यवहारिक, अमानवीय र संविधानको मर्म विपरितका गतिविधिहरू जालसाजीपूर्ण गतिविधि हुन् ।’

तरुण अध्यक्ष बस्नेतले भने, ‘कुनै संविधानका प्रक्रियाहरू मुलुक सञ्चालनका विधि र व्यवहार हुन् । राष्ट्रपति र प्रधानमन्त्रीबाट भएका यस्ता प्रकारका घर–व्यवहार सञ्चालन जस्ता देखिने गतिविधिहरू खेदजनक छ ।’

‘संसदीय मूल्य मान्यता बोकेका मुलुकहरूले सबै समस्याको समाधान संसदबाट नै खोज्नु पर्छ भन्ने मान्यता नेपाल तरुण दलले राख्दछ’, बस्नेतले भनेका छन् ।

‘राष्ट्रपति ज्यूको भूमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक जस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्नका लागि नेपाल तरुण दल केन्द्रीय समिति जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली मिलेर नयाँ सरकार बनाउन २१ घण्टाको समय तोकेर आह्वान गरेका छन् । संविधानको धारा ७६ को उपधारा (५) अनुसार नयाँ सरकार आह्वान गरिएको छ ।

भण्डारीको आह्वानअनुसार नयाँ प्रधानमन्त्रीका लागि ओलीले पहिला राजीनामा दिनुपर्छ । ओलीले राजीनामा नदिएरै भण्डारीले नयाँ प्रधानमन्त्रीको आह्वान गरेकी छिन् ।

Published : Friday, 2021 May 21, 12:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया